cURL Error: 0 मिस नेपाल वर्ल्ड बनेपछि दीपमाला ढकालको चर्चा थप चुलियो - पूर्व खबर

मिस नेपाल वर्ल्ड बनेपछि दीपमाला ढकालको चर्चा थप चुलियो

 

काठमाडौं, साउन १७ : मिस नेपाल वर्ल्ड–२०२६ को उपाधि जितेपछि दीपमाला ढकालको चर्चा स्वदेश तथा गैरआवासीय नेपाली समुदायमा व्यापक बनेको छ। सौन्दर्य प्रतियोगितामा सफलता हासिल गरेसँगै उनको व्यक्तिगत, व्यावसायिक तथा खेलकुद यात्राप्रति पनि चासो बढेको हो।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) की दोस्रो पुस्ताकी संयोजकसमेत रहेकी ढकाल हङकङमा जन्मेर हुर्किएकी नेपाली मूलकी युवती हुन्। उनी यसअघि मिस नेपाल हङकङको उपाधि जितिसकेकी छन् भने तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी तथा म्याराथन धावकका रूपमा समेत परिचित छिन्।
अर्थशास्त्रमा स्नातक गरेकी २३ वर्षीया ढकालले अन्तर्राष्ट्रिय लगानी व्यवस्थापन क्षेत्रमा समेत काम गरिसकेकी छन्। विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र पहिचानसँग निरन्तर जोडिँदै आएकी उनी अहिले विश्वभर रहेका दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवाका लागि प्रेरणाको पात्र बनेकी छन्।
ढकालको पारिवारिक पृष्ठभूमिले पनि उनको सफलतालाई थप अर्थपूर्ण बनाएको छ। उनकी आमा रोशनी खरेल सन् १९९४ को पहिलो मिस नेपाल प्रतियोगिताकी प्रतिस्पर्धी थिइन्। त्यतिबेला पूरा हुन नसकेको सपना तीन दशकपछि छोरीले मिस नेपालको ताज जित्दै पूरा गरेको चर्चा भइरहेको छ।
पारिवारिक स्रोतका अनुसार दीपमाला खरेल परिवारकी भान्जीसमेत हुन्। सौन्दर्य, नेतृत्व क्षमता र खेलकुदमा सक्रिय सहभागिताका कारण उनले युवापुस्तामाझ छुट्टै पहिचान बनाएकी छन्।
मिस नेपालको उपाधिसँगै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी प्राप्त गरेपछि उनको व्यक्तित्व र योगदानबारे सार्वजनिक चासो थप बढेको छ। गैरआवासीय नेपाली समुदायले समेत उनको सफलताले विदेशमा रहेका नेपाली मूलका युवालाई मातृभूमिसँग जोड्ने अभियानलाई नयाँ ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *