cURL Error: 0 कर्णालीका कथा देखाउँदै वनविज्ञानमा स्नातक सिर्जना सिज्जु, - पूर्व खबर

कर्णालीका कथा देखाउँदै वनविज्ञानमा स्नातक सिर्जना सिज्जु,

अनुभूति बटुलेका महिलाहरूमध्ये एक हुन् सिर्जना सिज्जु, जसले दूरदराजका कथा देखाउँदै आएकी छन्।

२०७६ सालमा घर छोडेर माथिल्लो डोल्पाको यात्रामा निस्केयता रुकुम पश्चिमकी सिर्जना सिज्जुलाई लामो समय कतै पनि अडिएको याद छैन। सानै उमेरदेखि उनमा घर बाहिरको संसारप्रति अनुराग थियो।

वनविज्ञानमा स्नातक उनी सरकारी सेवामा प्रवेश गर्न चाहन्थिन्। तर दुई पटक प्रयास गर्दा पनि सफल भइनन्।

हालैको एक मध्याह्नमा सम्पर्कमा आउँदा सिर्जना बर्दियामा भर्खरै जंगल सफारीबाट फर्किएकी थिइन्। केही महीनाअघि मात्र उनी चार हजार १०० मिटरको उचाइमा रहेको सिन्धुपाल्चोकको पाँचपोखरीमा थिइन्।

“मलाई मेरो मनले जता लैजान्छ, म त्यतै जान्छु। म आज एउटा जिल्लामा हुन सक्छु, भोलि अर्कैमा,”  यी २७ वर्षीया यायावर भन्छिन्, “म जहाँ पुगेको हुन्छु मेरो घर त्यहीं हो।”

उनले हत्तपत्त बर्दियाको अनुभव पनि सुनाइहालिन्। ज‌ंगल सफारीबाट फर्केकी उनी भन्छिन्, “मैले बाघ त देखिनँ तर गर्जन भने सुनें। मलाई लाग्छ बाघले चाहिं मलाई देख्यो होला।”

तनावपूर्ण समयबाट गुज्रिरहेका वेला सिर्जना घर नजिकैका हिमाल अवलोकन गर्न निस्किएकी थिइन्। यही यात्रा कालान्तरमा उनको लागि कोशेढुंगा सावित भयो। त्यति वेला उनले भिडिओ खिच्दै यूट्यूबमा पोस्ट गरिन्। वनविज्ञान पढ्दा ताका नै भिडिओ क्लिपहरू सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी उनका लागि यो स्वाभाविकै पनि थियो।

यसपछि उनी मानव पदचाप कमै टेकिएका कर्णाली प्रदेशका गन्तव्यहरू पुगिन्। यात्रावृत्तान्त बनाइन्। मोबाइलबाटै खिचिन्, सम्पादन गरिन् अनि यूट्यूबमा पोस्ट गरिन्। जति जति नयाँ गन्तव्य पुगिन्, उति उति नयाँ कुरा सिक्दै गइन्।

सिर्जनाको यूट्यूब च्यानलमा एक लाख सात हजारभन्दा बढी सब्सक्राइबर छन्। यस मानेमा नेपाली ‘ट्राभल भ्लगर’ हरूमध्ये चर्चितमै पर्छिन्।

तर ‘कन्टेन्ट क्रिएटर’ को जीवन सहज हुँदैन। ‘मनिटाइजेशन’ प्रक्रिया निकै झन्झटिलो हुन्छ। दुर्गममा यातायात र सञ्चार सुविधाको अभाव झेल्नुपर्छ। नेपाली कन्टेन्ट क्रिएटरले भोग्ने जटिलताहरू आफैंमा साहसिक अनुभूति हुन्।

सिर्जना बाहिरियालाई स्वीकार गरिनहाल्ने कर्णालीको एउटा दुर्गम गाउँ हुँदै गरेको यात्रा सम्झन्छिन्, जहाँ पछि उनले न्यानो स्वागत पाइन्। उनीहरूले सिर्जनालाई भिडिओ बनाउन पनि मद्दत गरे।

“जब कसैले नयाँ गन्तव्यतर्फ पाइला चाल्छ, यसले अरूलाई पनि पछ्याउन सजिलो बनाउँछ। किनकि नेपालीहरू शुरूमा शंकालु भए पनि पछि खुल्न थाल्छन्,” सिर्जना भन्छिन्, “म एकल यात्री भए पनि एक्लो भने कहिल्यै पनि हुँदिनँ। यात्रामा भेटिने मानिसहरू मेरा साथी र सहयात्री बन्छन्।”
himalkhaba bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *