cURL Error: 0 काफ्ले समाज झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित - पूर्व खबर

काफ्ले समाज झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित

काफ्ले समाज जिल्ला कार्यसमिति झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित भएका छन् ।

शनिवार बिर्तामोडमा सम्पन्न समाजको दोस्रो जिल्ला सम्मेलनमा मनोनयन पत्र दर्ता गर्दा अध्यक्षमा काफ्लेको मात्र मनोनयन परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

सम्मेलनको बन्द सत्रले आगामी २ वर्षे कार्यकालका लागि गोपाल काफ्लेको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको अध्यक्ष मण्डलका अध्यक्ष तोयानाथ काफ्लेले बताए ।

त्यस्तै, उपाध्यक्षमा यामनाथ काफ्ले, महिला उपाध्यक्षमा सीतादेवी काफ्ले, सहसचिवमा रोहित काफ्ले र कोषाध्यक्षमा रमेशकुमार काफ्ले निर्वाचित भएका छन् । उपाध्यक्ष यामनाथ र कोषाध्यक्ष रमेश पनि सोही पदमा निर्विरोध दोहोरिएका हुन् ।

यसैगरी, समाजको जिल्ला कार्यसमिति सदस्यहरुमा दुर्गा काफ्ले, कमल काफ्ले, प्रेम काफ्ले, होमनाथ काफ्ले, सुनिता काफ्ले, दुर्गाकुमारी काफ्ले, प्रकाश काफ्ले, टुम्मनाथ काफ्ले, हेमराज काफ्ले र बासुदेव काफ्ले निर्वाचित भएका छन् ।

समाजको जिल्ला कार्यसमिति चयन गर्न समाजका केन्द्रीय सदस्य तोयानाथ काफ्लेको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

निर्विरोधरुपमा चुनिएका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका पदाधिकारी एवं सदस्यहरु, समाजका अग्रज अभिभावक गोविन्द काफ्ले लगायतले खादा र अविर पहिर्याएर बधाईसहित शुभकामना व्यक्त गरेका थिए ।

समाजको कोशी प्रदेश उपाध्यक्षसमेत रहेकी निर्वाचन समितिका सदस्य दुर्गा खनाल (काफ्ले)ले निर्वाचित सबैलाई पद तथा गोपनियताको शपथ खुवाएकी थिइन् ।

समाजको दोस्रो कार्यकालका लागि फेरि अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष गोपाल काफ्लेले प्रतिबद्धता मन्तव्य राख्दै समाजले सुम्पिएको अभिभारा पूरा गर्न बन्धुबान्धवको चौतर्फि हितमा जोड दिने बताए ।

सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष गोपाल काफ्लेद्वारा प्रस्तुत सौगाठानिक प्रतिवेदन तथा नीति कार्यक्रमहरु र कोषाध्यक्ष रमेशकुमार काफ्लेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

सम्मेलनको उद्घाटन काफ्ले समाजका निवर्तमान केन्द्रीय अध्यक्ष ख्यामनारायण काफ्लेले शाण्डिल्य ऋषिको तस्वीरमा माल्यार्पण र दीप प्रज्ज्वलन गरी गरेका थिए ।

त्यसक्रममा प्रमुख अतिथि ख्यामनारायण काफ्लेले देशमा क्रियाशील काफ्ले बन्धुका दुईवटा समाज क्रियाशील रहेकाले एकीकरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

“प्राविधिक कारणवशः केही काम रोकिएको छ” उनले भने, “समाज चाँडै एउटै बन्दैछ, दुई समाजमा विभक्त झैं देखिएका बन्धुलाई एकताको सूत्रमा बाँध्दै बन्धुहितका अभियान अघि बढाउँदैछौं ।”

बन्धुहितका लागि झापा समाजले जिल्लास्तरमा गरेका कतिपय कार्यक्रम केन्द्रले समेत सिको गर्न लायक रहेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि ख्यामनारायणले देशभरका जागरुक बन्धुको सहयोग र समन्वयबाट देशका सबै तहगत समाज चलायमान बनेका बताए ।

उद्घाटन समारोहका विशिष्ट अतिथि काफ्ले समाजका महासचिव देवीप्रसाद शर्मा काफ्लेले बन्धुहरुको वंशावलीका लागि पुस्ता र फोटोसहितको विवरण डिजिटल माध्यमबाट राख्ने तयारी भइरहेको बताए ।

जिल्ला सम्मेलनको अवसरमा बन्धुकल्याण र श्रीवृद्धिका लागि योगदान गर्नुहुने समाजका ज्येष्ठ अभिभावक गोविन्द काफ्लेलाई कदरपत्रद्वारा विभुषित गरियो । यस्तै वंशावली अन्वेषण तथा लेखन र प्रकाशनमा नेतृत्व गर्ने झापाका दुई अग्रजहरु गोपालप्रसाद काफ्ले गौरादह १ र शिवप्रसाद काफ्ले दकम ६ लाई कदरपत्र प्रदान गरिएको थियो ।

काफ्ले समाज झापाले पूर्वमा काफ्ले समाजलाई परिचित गराउने दुईजना अग्रजहरु टंक काफ्ले (विकल्प) बुद्धशान्ति १ बुधबारे र जीवनाथ काफ्ले कनकाई ५ लाई दोसल्ला ओढाएर कदरपत्र एवम् मायाको चिन्हो प्रदान गरी सम्मान गरियो ।

सो अवसरमा भारत सिलिगुडीमा बसोबास गर्दै पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील अग्रज काफ्ले बन्धु युवराज काफ्लेसहित विभिन्न विधाका व्यक्तित्वलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

त्यस्तै, शैक्षिक सत्र २०८० मा कक्षा १२ को परीक्षामा झापाली काफ्लेहरुकी छोरीमध्ये सर्वोत्कृष्ट जीपीए ३ दशमलव ०८ अंक ल्याई उत्तीर्ण हुने दमक–९ निवासी सम्पदा काफ्लेलाई नगद राशी २ हजार ५०० रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका ८० वर्ष उमेर पार गरेका ११ जना आमाबुवाहरु अम्बिका काफ्ले, चन्द्रकला काफ्ले, देवीप्रसाद काफ्ले, केवलीराम काफ्ले, नारायणप्रसाद काफ्ले, खेमकुमारी काफ्ले, लक्ष्मीप्रसाद काफ्ले, कृष्णमाया काफ्ले, गायत्रीप्रसाद काफ्ले लगायतलाई यातायात खर्च, मिष्ठान्न भोजन, मायाको चिह्नोसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समारोहमा मन्तब्य राख्दै काफ्ले बन्धु कल्याण समितिका महासचिव शिवप्रसाद काफ्लेले यसरी सबै बन्धुहरु एउटै थलोमा बसेर कार्यक्रम गरिरहँदा मन मिल्दै जाने र व्यवहार पनि सुल्झाउन सजिलो हुने धारणा राखे । उनले बन्धु कल्याण समितिका वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद र आफूलाई वंशावली संकलनमा गरेको अथक कर्मको फलस्वरुप काफ्ले समाज झापाले कदरपत्रद्वारा अभिनन्दन गरेकोमा हर्षविभोर भएको बताए । ‘काफ्लेहरु फुटेर होइन जुटेरमात्र बन्धुहित हुनेछ, हाम्रा अनेक संस्थाहरु एक बनाउन सबैले यथेष्ट पहल गर्न ढिला भइसकेको छ’ महासचिव शिवप्रसादको भनाई थियो ।

सो कार्यक्रममा सम्मानितहरुको तर्फबाट मन्तब्य राख्दै समाजका पूर्व केन्द्रीय सदस्य टंक काफ्ले विकल्पले झापाली काफ्लेहरुलाई एकताको सूत्रमा बाँध्दै लगेको समाजले सम्मान र पुरस्कारको कार्यक्रम सुरु गरेकोमा आभार प्रकट गरे । समाजलाई पूर्वमा भित्राउन आफूहरुको प्रयासलाई सार्थकता दिँदै जिल्लाले कदरपत्र प्रदान गर्नुले आफूलाई पुलकित बनाएको उनको भनाई थियो ।

समाजका जिल्ला अध्यक्ष गोपाल काफ्लेको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन सत्रमा उपाध्यक्ष यामनाथ काफ्लेले शाब्दिक स्वागत गरेका थिए भने समारोहको सञ्चालन सचिव गोविन्द काफ्लेले गरेका थिए ।

यसैबीच, सम्मेलनको सन्दर्भ पारेर बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा स्वास्थ्य शिविरमा ४७ जनाले आँखा जँचाएका थिए ।

त्यसक्रममा १ जनामा मोतिया विन्दू फेला परेको, १२ जनामा दृष्टिदोष लगायत समस्या देखिएको दृष्टिरोग विशेषज्ञ गणेश खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *