आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरिएको छ ।
चिकित्सालयका प्रमुख डा. पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताउनुभयो । मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रर्दशनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एव खानपानको जानकारी गराइने उहाँले बताउनुभयो ।
चिकित्सालयका प्रमुख डा. नेपालले मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवम् लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवद्र्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताउनुभयो ।
यसैगरी, प्रविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरुद्वारा औषधिजन्य जडिबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडिबुटीहरुको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरु पनि राखिएको छ । मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट सङ्कलन, दिगो संरक्षणमा प्रयास एवम् कृषकबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतिको बारेमा पनि छलफल हुनेछ ।
मेलाबाट औषधिको प्रयोग भएपनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्ने छ । चिकित्सालयका प्रमुख डा. नेपालले नेपालमा करिब पाँच हजार ६०० जडीबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको बताउनुभयो ।dainiknepal





