cURL Error: 0 दानवीय सोचको प्रवर्द्धन रोक्न कडा कानुनको आवश्यकता_गोविन्द थापा। - पूर्व खबर

दानवीय सोचको प्रवर्द्धन रोक्न कडा कानुनको आवश्यकता_गोविन्द थापा।

गोविन्द थापा।
काठमाडौं, फागुन ४ – पोखरामा भएको वेलुन विष्फोट दुर्घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाप्रति सामाजिक सञ्जालमा आएका असंवेदनशील टिप्पणीहरूले गम्भीर चिन्ता उत्पन्न गरेको छ। मानवीय संवेदनाको अभाव झल्काउने यस्ता प्रतिक्रियाले समाजमा अमानवीयता र राक्षसी प्रवृत्तिको विस्तार भइरहेको देखाउँछ।

दुर्घटनाप्रति संवेदना कि खुसी?

प्राकृतिक वा मानवीय दुर्घटनामा परेर कुनै पनि व्यक्ति घाइते हुँदा दुःख महसुस गर्नु मानव स्वभाव हो। तर, सामाजिक सञ्जालमा केही व्यक्तिहरू मन्त्री पौडेल र मेयर आचार्यको दुर्घटनाप्रति खुसी व्यक्त गरिरहेका दृश्यले समाजमा असामाजिक प्रवृत्ति मौलाउँदै गएको देखिन्छ। राजनीतिक असहमति वा व्यक्तिगत मनोभावका कारण अरूको पीडामा रमाउने संस्कृतिले समाजलाई कहाँ पुर्याउने हो भन्ने गम्भीर प्रश्न खडा भएको छ।

मानवीय संवेदनाको गिरावट

सामाजिक सञ्जालमा घाइते व्यक्तिहरूप्रति अमानवीय गालीगलौज गर्दै ताली बजाउने प्रवृत्ति पहिलेदेखि नै देखिँदै आएको हो। विशेषगरी, चर्चित नेताहरूको निधन वा कुनै अनिष्ट हुँदा खुसी मनाउने केही व्यक्तिहरू विगतमा पनि देखिएका थिए। यस्तो प्रवृत्ति सभ्य समाजका लागि खतरा बन्नसक्ने विज्ञहरूको चेतावनी छ।

स्वतन्त्रता कि स्वच्छन्दता?

स्वतन्त्रताको नाममा अरूको चरित्र हत्या गर्ने, अनर्गल आरोप लगाउने, दानवीय विचार फैलाउने जस्ता गतिविधिहरू सामाजिक सञ्जालमा सामान्य हुँदै गएका छन्। स्वतन्त्रता भनेको गति छाड्नु होइन, बरु सामाजिक मर्यादा कायम राख्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु हो।

सामाजिक सञ्जाल नियमनको माग

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै जाँदा नियमनका लागि कडा कानुन आवश्यक भएको आवाज उठ्न थालेको छ। असामाजिक, अमानवीय तथा घृणायुक्त सामग्री फैलाउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनु पर्ने माग उठेको छ।

समाजमा मानवीय संवेदनशीलता र सभ्य संवादको संस्कार विकास गराउनका लागि सामाजिक सञ्जालको मर्यादित प्रयोग र कानुनी व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने आवश्यकता देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *