cURL Error: 0 षष्टिका बस्नेत पुरस्कार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारीलाई - पूर्व खबर

षष्टिका बस्नेत पुरस्कार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारीलाई

विराटनगर – यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ भने ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ पत्रकार सुरेन्द्र भण्डारीलाई दिइने भएको छ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले १ लाख १ सय रूपैयाँ राशिको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई दिने निर्णय गरेको हो। त्यस्तै, २५ हजार २५ रुपैयाँ राशिको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ पूर्वाञ्चल दैनिकका सह-सम्पादक भण्डारीलाई प्रदान गरिने भएको छ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा बसेको महासंघको तेस्रो बैठकले दुवै पुरस्कार महासंघको ७०औं स्थापना दिवसका अवसरमा शनिवार प्रदान गर्ने निर्णय गरेको थियो। तर, मुलुकमा उत्पन्न परिस्थितिका कारण महासंघले अर्को सूचना जारी नभएसम्म कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम स्थगित भएको महासंघका सचिव नेत्रप्रसाद अधिकारीले जानकारी दिए।

नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष पाठकको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले पुरस्कारको छनोट गरेको थियो। समितिमा महासंघका पूर्वअध्यक्ष एवं अग्रज पत्रकार यज्ञ शर्मा र दाता परिवारका तर्फबाट केदारबहादुर बस्नेत रहेका थिए।

पत्रकार किशोर बुढाथोकी मुलुकी खबर अनलाइनका सम्पादकसमेत रहेका छन्। उनी सूचनाको हकका लागि अभियन्ताका रूपमा क्रियाशील छन्। त्यस्तै, पत्रकार भण्डारी राष्ट्रिय समाचार समिति र इमेज टेलिभिजनका झापा संवाददाता तथा इकोनोमिक मिडिया एसोसिएसन (इमान) को कोशी प्रदेशका प्रथम सचिवसमेत रहेका छन्। उनी अनलाइन पत्रकार संघ झापाका अध्यक्षसमेत हुन्।

विराटनगरका समाजसेवी केदारबहादुर बस्नेतले आफ्नी श्रीमतीको स्मृतिमा पत्रकार महासंघ मोरङमार्फत प्रदान गरिने गरी ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। २०७३ सालदेखि प्रदान गर्न थालिएको यस पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, अग्रज पत्रकार गजेन्द्र बुढाथोकी, काशीराज दाहाल र स्वर्गीय विनय कसजु सम्मानित भइसकेका छन्।

त्यस्तै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार यसअघि राजु श्रेष्ठ, मोहन काजी न्यौपाने, गणेश लम्साल, देवनारायण साह र हरि अधिकारीलाई प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *