काठमाडौं, वैशाख १ – नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न भएको छ। नयाँ वर्ष २०८२ कै पहिलो दिन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक विषयवस्तुमा महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा राजनीतिक व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै आम जनतालाई सतर्क र सचेत रहन अपिल गरेको छ। एमालेले योजनाबद्ध रूपमा व्यवस्था विरुद्ध षडयन्त्र भइरहेको भन्दै त्यसविरुद्ध खबरदारी अपनाउन जनतासँग आग्रह गरेको हो।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै पार्टीको स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिनेछ।
सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै चितवनमा दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएको छ। प्रचण्डले नयाँ वर्षसँगै सरकार परिवर्तन हुन सक्ने संकेत गर्दै अभिव्यक्ति दिएका थिए।
उपमहासचिव ज्ञवालीले प्रचण्डको भनाइप्रति कडा प्रतिक्रिया दिँदै भन्नुभयो, “यो सत्ता बाहिरको कुण्ठा र पीडाबोध हो। अहिले सरकार परिवर्तनको न औचित्य छ, न सान्दर्भिकता।” उहाँले सरकारले जनताको असन्तुष्टि सम्बोधन गर्दै अझ राम्रो प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।
बैठकले सरकारलाई अझ ‘बेटर पर्फर्मेन्स’ का लागि सुझाव दिएको पनि उहाँले बताउनुभयो। तर, उहाँले केही कमजोरीलाई आधार बनाएर व्यवस्था नै पल्टाउने प्रयासलाई अस्थिरताको कोशिस भन्दै खारेज गर्नुभयो।





