cURL Error: 0 जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह - पूर्व खबर

जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह

बिर्तामोड, झापा । झापाको अर्जुनधारा स्थित जलेश्वरधाममा बुधबार १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह सम्पन्न गरिएको छ। विश्व हिन्दु परिषद् नेपालको आयोजनामा सम्पन्न सो कार्यक्रममा झापा सहित विभिन्न जिल्लाबाट आएका वरवधूले हिन्दू परम्पराअनुसार वैवाहिक बन्धनमा बाँधिएका हुन्।

विवाह कार्यक्रम अर्जुनधारा धाम विकास समितिको संयोजनमा सम्पन्न भएको हो। समितिका अध्यक्ष नविन गट्टानीका अनुसार, सबै जोडीलाई सम्बन्धित वडा कार्यालयबाट कानुनबमोजिम उमेर पुगेको सिफारिसका आधारमा अभिभावकको उपस्थितिमा वैवाहिक प्रक्रिया सम्पन्न गराइएको हो।

कार्यक्रममा वरवधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलातर्फबाट पोतेसहितको सुनको तिलहरि, गाग्री, खड्कुला लगायत भाँडाकुडा, र शुद्ध शाकाहारी खानाको व्यवस्था गरिएको थियो।

गट्टानीका अनुसार, सामूहिक विवाह अभियानलाई अझ प्रभावकारी बनाउन समितिले आगामी वर्ष १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको छ। यस वर्ष २५ जोडीको विवाह गराउने लक्ष्य भए पनि १९ जोडीको विवाह सफलतापूर्वक सम्पन्न भएको हो।

सामाजिक सद्भाव, दाइजो प्रथा उन्मूलन र आर्थिक दृष्टिले कमजोर परिवारलाई राहत पुर्‍याउने उद्देश्यले आयोजित यस्तो सामूहिक विवाह कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको स्थानीयबासीको प्रतिक्रिया छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *