झापा, वैशाख ११ –
बिर्तामोड बसपार्कस्थित पाथिभरा इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले क्याम्पस प्रशासनको एकपक्षीय निर्णयको विरोधमा रिले अनशन सुरु गरेका छन्।
कलेज प्रशासनले कम्प्युटर इन्जिनियरिङका लालु यादव र सिभिल इन्जिनियरिङका धिरेन्द्र अधिकारीलाई ७ दिनका लागि कक्षा सञ्चालनमा रोक लगाएको विरोधमा विद्यार्थी आन्दोलित बनेका हुन्।
विद्यार्थीहरूका अनुसार यादव र अधिकारीले कलेजमा प्राविधिक कमीकमजोरी, शिक्षण गुणस्तरमा समस्या र प्रयोगशाला सुविधाको अभावलगायत विषयमा व्यवस्थापनसँग संवाद गर्दै सुधारको माग गरेका थिए। तर, सुधारको सट्टा उनीहरूलाई निष्कासन गरिएको भन्दै अन्य विद्यार्थीहरू आक्रोशित भएका छन्।
अनशनमा सहभागी विद्यार्थीहरूले भने, “हामी शिक्षाको गुणस्तरमा सुधार चाहन्छौं, आवाज उठाएको सजाय निष्कासन हो भने यो हाम्रो भविष्यमाथिको खिल्ली हो।”
कलेजले वैशाख ५ गते अभिभावकहरूको उपस्थितिमा छलफलको लागि बैठक बोलाए पनि सो बैठकपछि कुनै समाधानको पहल नगरी उल्टै आवाज उठाउने विद्यार्थीलाई दण्डित गरेको आन्दोलनरत विद्यार्थीहरूको आरोप छ। उनीहरूले आज बिहान ११:३० बजेदेखि अर्जुनधारा–११ मा रहेको कलेज अगाडि रिले अनशन सुरु गरेका छन्।
विद्यार्थीहरूको मागअनुसार, वैशाख ९ गते क्याम्पस सञ्चालक युवराज प्रसाईं र सीइओ अनुज पराजुलीले विद्यार्थीहरूसँग प्रयोग गरेको अभद्र भाषा र धम्कीपूर्ण व्यवहारप्रति माफी मागिनु पर्ने, निष्कासन फिर्ता लिनु पर्ने, र कलेजमा शिक्षण गुणस्तरमा आवश्यक सुधार गर्नुपर्ने माग राखिएको छ।
अनशनस्थलमा नेपाल विद्यार्थी संघ झापा सभापति संजय निरौलाको नेतृत्वमा करिब १० जना विद्यार्थीको टोलीले उपस्थित भई आन्दोलनप्रति पूर्ण समर्थन जनाएको छ। नेविसंघ झापाले प्रशासनको अडान विद्यार्थी विरोधी र संवादहीन भएको भन्दै कडा शब्दमा विरोध जनाएको छ।
“छात्र–छात्राले उठाएको आवाजलाई दबाउने शैली अनुचित हो। तत्काल निष्कासन फिर्ता नलिए ठूलो आन्दोलन चर्काउने छौं,” सभापति निरौलाले चेतावनी दिए।
यसबीच, कलेज प्रशासनले विद्यार्थीको मागलाई सम्बोधन गर्ने तयारीमा रहेको संकेत गरे पनि औपचारिक प्रतिक्रिया भने दिएको छैन।
विद्यार्थीहरूको आन्दोलन जारी रहँदा पठनपाठनमा असर पर्ने सम्भावना बढ्दो छ। शिक्षालयभित्र उत्पन्न यस्ता विवाद समाधान संवादका माध्यमबाट हुनुपर्नेमा धेरैको जोड रहेको छ।





