cURL Error: 0 युथ पावर फाउन्डेसनको बिर्तामोडमा निशुल्क स्वास्थ्य शिविर - पूर्व खबर

युथ पावर फाउन्डेसनको बिर्तामोडमा निशुल्क स्वास्थ्य शिविर

विर्तामोड, १३ वैशाख ।
युथ पावर फाउण्डेशन झापाको आयोजनामा र विर्तामोड वडा नं. ७ को आर्थिक सहयोगमा आयोजित स्वास्थ्य शिविर आज सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीयस्तरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरमा १५० जना भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका छन्।

शिविरमा स्पाइनएक्स अस्पतालको प्राविधिक सहयोग प्राप्त थियो। अस्पतालका निर्देशक डा. प्रेमबहादुर शाही, जनरल सर्जन डा. लक्ष्मण राना मगर, मेडिकल अफिसर डा. राजेन्द्र खतवे र फिजियोथेरापिस्ट डा. कविन सापकोटाको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सक टोलीले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले स्वास्थ्य क्षेत्रलाई सरकारको प्रमुख दायित्वका रूपमा अघि सारे। उनले भने, “नागरिकको स्वास्थ्य संरक्षण राज्यको अनिवार्य दायित्व हो। तीनै तहका सरकारहरू (संघीय, प्रदेश र स्थानीय) स्वास्थ्य सेवाको विकास र विस्तारमा गम्भीर हुन आवश्यक छ।” मन्त्री कार्कीले वडास्तरबाट समेत स्वास्थ्यका क्षेत्रमा यस्ता कार्यक्रम हुन थालेकोप्रति खुशी व्यक्त गर्दै स्थानीय तह र संघसंस्थाको सहकार्यले मात्र समावेशी र प्रभावकारी स्वास्थ्य सेवा सम्भव हुने बताए।

युथ पावर फाउण्डेशन झापाका अध्यक्ष दीपा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड वडा नं. ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले वडावासीको स्वास्थ्य सुरक्षाका लागि जनप्रतिनिधि सदैव गम्भीर रहेको बताए। उनले संस्थासँग सहकार्य गरेर स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने प्रयास गरिएको उल्लेख गरे।

कार्यक्रममा युथ पावर फाउण्डेशनका उपाध्यक्ष सरिता मैनालीले स्वागत मन्तव्य दिएकी थिइन् भने महासचिव अस्मिता कार्कीले कार्यक्रमको समग्र प्रगतिबारे जानकारी दिएकी थिइन्।

शिविरमा सहभागी भएका स्थानीय बासिन्दाहरूले घरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएकोमा आयोजक र वडाप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रमले वडास्तरमा स्वास्थ्य सचेतना र स्वास्थ्य सेवा पहुँच विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *