कनकाई, झापा — झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसी र इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश विष्टलाई कनकाई नगरपालिकाले मंगलबार एक विशेष कार्यक्रमका बीच बिदाइ गरेको छ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा कनकाई नगरपालिका सभाहलमा आयोजित “फेरि भेटौँला” कार्यक्रमका क्रममा नगर प्रमुख पोखरेल, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले दुवै प्रहरी अधिकृतको आगामी कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओलीको नेतृत्वमा आएको टोलिले मायाको चिनो प्रदान गर्दै सफलताको कामना व्यक्त गरेको थियो।
एसपी केसीको झापामा प्रभावकारी कार्यकाल
काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखाबाट झापा आएका एसपी मिलन केसीले करिब १४ महिनाको कार्यकालमा जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाएका थिए। अपराध न्युनीकरणमा झापामा व्यापक अभ्यास गरेको उल्लेख गर्दै उनले राजनीतिक दबाबभन्दा पर रही, जनताको अनुभूति हुने गरी सेवा प्रवाहमा समर्पित रहेको बताए।
“झापाको हरेक पालिकासँग सहकार्य सकारात्मक रह्यो। कनकाई नगरपालिकासँगको समन्वय झनै सहज रह्यो,” उनले कार्यक्रममा उल्लेख गरे। दुई पटकसम्म प्रदेशस्तरीय उत्कृष्ट प्रहरी अधिकृतको सम्मान प्राप्त गरिसकेका केसीले इमान्दारिता, समर्पण र सन्तुष्टिको भावनाले काम गर्दा सफलता आफैँ आउँछ भन्ने विश्वास व्यक्त गरे।
डिएसपी विष्टको पनि प्रशंसा योग्य योगदान
काठमाण्डौ प्रहरी प्रधान कार्यालयमा सरुवा भएका डिएसपी प्रकाश विष्टले पनि करिब १४ महिनाको कार्यकालमा कनकाई क्षेत्रको शान्ति सुरक्षा कायम राख्न सफल भूमिका खेले। कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धकै कारण अपराध नियन्त्रणमा उल्लेखनीय परिणाम आएको बताए।
दुवै अधिकृतलाई नगरपालिकाले बिदाइ गरे पनि, उनीहरूले झापामा देखाएको समर्पण र निष्ठा स्थानीय जनप्रतिनिधि तथा नागरिकबीच स्मरणीय रहने विश्वास गरिएको छ।





