राजकुमार ओली। बिर्तामोड १८ वैशाख
१४ महिनाको कमाण्डमा झापा प्रहरीको नेतृत्व सम्हालेका इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले अनुसन्धान क्षमताको असाधारण परिचय दिएका छन्।
उनका कार्यकालमा घटेका मुख्य १२ वटा गम्भीर अपराधमा ‘वान टु वान’ कारबाही गर्दै अनुसन्धानका तहमा पुगेका मुद्दा अब ‘न्यायको गोलघर’मा पुगेका छन्।
प्रत्येक घटनामा समयमै सूचना संकलन, उच्च सतर्कता, रणनीतिक टोली परिचालन, फरार अपराधीको निगरानी, फरेन्सिक प्रयोग, र कानुनी प्रक्रिया बुझेर अनुसन्धान अगाडि बढाउने विष्टको शैलीलाई जिल्ला प्रहरी कार्यालय झापाले पनि प्रशंसा गरेको छ।
१. नक्कली सुन ठगीको पर्दाफास
२०७९ वैशाख ३ गते बुद्धशान्तिका चन्द्रप्रसाद सिटौलालाई नक्कली सुन देखाएर ६० हजार ठगी गर्ने भारतीय नागरिक शेरबहादुर गिरीलाई विष्टको टोलीले पत्ता लगाई तत्कालै नियन्त्रणमा लियो। यो अनुसन्धानले अन्तरजिल्ला ठगी गिरोहलाई चकित पार्यो।
२. डेरामा छुरी आक्रमण : फरार अभियुक्त धरपकड
जेठ ६ मा बिर्तामोडमा डेरामा बस्ने काशिराम गौतममाथि धारिलो हतियार प्रहार गरी फरार भएका बरुण धिमाललाई लामो निगरानीपछि पक्राउ गरियो। बिष्टले “अपराधी भाग्न सक्छ, तर प्रहरीबाट उम्कन सक्दैन” भन्ने भनाइ पुष्टि गरे।
३. गुप्त सूचना र हतियार बरामद
असार १२ मा निबुवा बोट मुनि लुकाइएको पेस्तोल फेला पार्दै सुरेश पराजुलीलाई पक्राउ गरियो। यो घटनाले ‘सम्भावित हिंसात्मक घटना’लाई पूर्वमै नियन्त्रण गर्न सकिन्छ भन्ने सन्देश दियो।
४. शिवनगर हत्या काण्ड : ६ अभियुक्त पक्राउ
२०७९ वैशाख २६ मा विष्णुकुमारी विष्टको हत्या प्रकरणमा एकपछि अर्को गर्दै ६ अभियुक्त पक्राउ गरेर डिएसपी विष्टले अनुसन्धान क्षमताको पराकाष्ठा देखाए।
५. लागूऔषधसहित फरार, पुनः पक्राउ
भदौ २ मा ब्राउनसुगरसहित पक्राउ परेका विषाल राई उपचारकै बहानामा भागे। तर विष्टको टोलीले उनलाई फेरि पक्राउ गर्दै अदालतको फैसला कार्यान्वयन गरायो।
६. पेस्तोलसहित आङ्देम्बे पक्राउ
भदौ ४ मा अर्जुनधारामा घरमै हतियार राखेका आङ्देम्बेलाई पक्राउ गर्दै डिएसपी बिष्टले अवैध हतियार नियन्त्रणलाई पनि सशक्त बनाएका छन्।
७. सामूहिक बलात्कार : ७ अभियुक्त पक्राउ
१६ वर्षीया बालिकामाथि भदौ ७ मा भएको सामूहिक बलात्कार प्रकरणमा ७ जनालाई फरक-फरक स्थानबाट पक्राउ गर्दै, ‘शून्य सहनशीलता’ नीतिलाई व्यवहारमा उतारे।
८. ट्रक जलाइए, चालकको मृत्यु : योजनाबद्ध अनुसन्धान
असोज ६ र ७ मा दुई ट्रक जलाइएका घटना अनुसन्धान गर्दै चालक पद रोयको मृत्युपछि ८ अभियुक्त पक्राउ गरियो। ट्रक व्यवसायीमाझ डर हटाउने यो कारबाही प्रभावकारी मानियो।
९. गाडिएको शवको उद्धार : राजेश हजाम हत्याको रहस्य फेला
असार १५ मा बाह्रदशीका राजेश हजामको हत्या गरिएको सूचना पाएपछि अनुसन्धान थालिएको थियो। बिष्ट नेतृत्वमा शव गाडिएको ठाउँ पत्ता लाग्यो र ४ अभियुक्त पक्राउ परे।
१०. प्रेमीले गरे प्रेमिकाको हत्या
भदौ २८ मा मनिषा लोहारको हत्या गरेका अनिल विकलाई घटनास्थलबाटै पक्राउ गरी बिष्टले ‘क्राइम सिन रेस्पोन्स’ मा तत्कालिकता देखाए।
११. श्रीमती हत्या : बाँसघारीबाट पक्राउ
असोज २८ मा श्रीमती मनकुमारी भुजेलको घाँटी रेटेर हत्या गरेका विरबहादुर चौहान बाँसघारीमा लुकेका थिए। विष्टको टोलीले उनलाई पनि छोप्न सकेन।
१२. फलामको रडले हत्या : मानकुमार पक्राउ
मंसिर १ मा गंगालाल माझीको हत्या गरेका मानकुमार राजवंशीलाई विष्टको टोलीले पक्राउ गरी अदालतमा पुर्पक्षको माग गर्यो।
पारदर्शिता, अनुशासन र सहकार्यको त्रिवेणी
डिएसपी विष्टले प्रत्येक घटनामा पत्रकारहरूलाई जानकारी उपलब्ध गराउनु, जनप्रतिनिधिसँग समन्वय गर्नु, र टोली निर्माणमार्फत अनुसन्धानलाई दिगो बनाउनु मुख्य विशेषता बनेको हो। सञ्चारमैत्री प्रवृत्तिका कारण बिष्टको लोकप्रियता पनि उल्लेखनीय रह्यो।
प्रहरी संगठनभित्र नेतृत्वको स्पष्ट दृष्टिकोण र निष्पक्ष अनुसन्धान गर्ने क्षमताले गर्दा डिएसपी विष्टको कार्यकाल उदाहरणीय बन्न पुगेको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवी प्रसाद संग्रोलाले पूर्व खबरलाई बताए।
बिर्तामोडमा देखिएका अपराध न्यूनीकरणका सवालमा अब्बल ठानिएका डीएसपी बिष्टले गरिएका कदमले अपराध न्यूनीकरणमा काम गरेको देखिएको र अब आउने कमाण्ड पनि अझ उत्कृष्ट आउने र हुने आशा पलाएको स्थानीय बासीहरूको अपेक्षा छ।
नेपालकै हरेक किसिमका घटनाक्रममा चर्चामा आउने गरेको बिर्तामोड मा धेरै किसिमका सहजता र जोखिमहरू रहने गरेको ले पनि नगरवासी हरु सुरक्षाका विषयमा गम्भीर बन्ने गरेका छन्





