बिर्तामोड, असार ३१ । पूर्व खबर
साहित्य चौतारी झापाको २६औँ वार्षिकोत्सव तथा २१२औँ भानु जयन्तीको अवसरमा आयोजित विशेष काव्य तथा सांस्कृतिक समारोह आज यहाँ सम्पन्न भएको छ ।
वरिष्ठ कलाकर्मी तथा परालको आगो चलचित्रका चर्चित अभिनेता टङ्क शर्मा गौतमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्य, संगीत, ललितकला, अभिनय तथा गायन विधामा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई ‘भिपधज’ पुरस्कारद्वारा सम्मान गरिएको हो ।
संस्थाका संस्थापक/संरक्षक द्वय देवीभक्त श्रेष्ठ तथा उर्मिला विमली श्रेष्ठद्वारा आफ्ना दिवंगत पिता–माताको स्मृतिमा रु. २५,१०१ राशियुक्त ‘भिपधज साहित्य चौतारी वर्ष पुरस्कार’ स्थापना गरिएको छ, जुन यो वर्ष साहित्यकार भानुभक्त कुभिण्डेलीलाई प्रदान गरिएको छ । उक्त पुरस्कार आगामी वर्षहरूमा पालैपालो संगीत र कला विधामा प्रदान गरिने जानकारी आयोजकले दिएको छ ।
त्यस्तै, रु. ११,१११ राशियुक्त ‘भिपधज डिकमान विरही स्मृति साहित्य चौतारी पुरस्कार’ अभिनेत्री विमला चिमरिया (सर्लाही) लाई प्रदान गरिएको छ भने ‘भिपधज जेबि–मदन स्मृति साहित्य चौतारी पुरस्कार’ साङ्गीतिक विधातर्फ लोचन भट्टराई (काठमाडौं) लाई प्रदान गरिएको छ ।
अन्य सम्मानित तथा पुरस्कृत स्रष्टाहरूमा निम्न रहेका छन्:
- नन्दकृष्ण जोशी (बझाङ) – संगीत विधातर्फ ‘भिपधज स्मृति वर्ष अभिनन्दन २०८२’
- मित्रप्रसाद दाहाल (झापा) – साहित्यतर्फ ‘भिपधज भानु–माधव स्मृति अभिनन्दन २०८२’
- यसोदा कुमारी सिंह लम्साल (सुनसरी) – ललितकला विधातर्फ ‘भिपधज वर्ष सम्मान २०८२’
कार्यक्रममा स्रष्टा मीना अधिकारीको उपन्यासको विमोचन गरिएको थियो । सो कृतिको संक्षिप्त समीक्षा सर्जक हरिनारायण भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा भारत तथा नेपालका विभिन्न क्षेत्रबाट विशिष्ट अतिथि तथा साहित्य–संगीत–कला क्षेत्रका स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रमुख अतिथि टङ्क गौतमका साथमा विशिष्ट अतिथिहरूमा जीवन अधिकारी, प्राज्ञ सुमित्रा वाङ्देल चेली, सङ्गीतकार महेश्वर लामा (भारत), डा. कमला तामाङ (भारत) र पुण्य खरेल रहनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता संस्थापक/संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य उर्मिला विमली श्रेष्ठले राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भ सचिव तुलसी निरौलाले गर्नुभएको थियो भने सञ्चालन पूर्व सचिव दिलिप घिमिरेले गर्नुभएको थियो ।
सोही समारोहका अवसरमा साहित्य चौतारी झापाले दार्जिलिङस्थित गोर्खा दुःख निवारण सम्मेलनलाई रु. ५०,१०१ भारु (नेरु ८०,१६१।६०) को अक्षयकोष रकम हस्तान्तरण गरेको जानकारी दिइएको छ ।
(‘भिपधज’ शब्दले भीमबहादुर श्रेष्ठ, पञ्चकुमारी श्रेष्ठ, धनमाया विमली र जगन्नाथ विमलीलाई जनाउँछ भने ‘जेबि–मदन’ मा जेबि आले र मदनदीपबिम बस्नेतको सम्झना समेटिएको छ ।



