रिटर्नीको अगुवाइमा नवयुग इन्भेष्टमेन्ट कम्पनीको कार्यशाला सम्पन्न, २५ अर्ब लगानी संकलनको लक्ष्य

 

राजकुमार ओली १८ साउन, काठमाडौँ
रिटर्नी फेडेरेसन नेपालको प्रवर्द्धनमा स्थापना गरिएको नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको व्यवसायिक कार्यशाला राजधानी काठमाडौंमा सम्पन्न भएको छ।

कार्यशालामा कम्पनीको दीर्घकालीन वित्तीय योजना, पुँजी संकलन र रोजगारी सिर्जनाका सम्भावनालाई लिएर विस्तृत छलफल गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेकपा एमालेका महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलले व्यवसायिक सफलता जोखिम मोल्न सक्ने क्षमतासँग जोडिएको बताए। उनले भने, “म बनाउँछु मेरो देश भन्ने भावनाले नागरिकमा कर्तव्यबोध बढाउँछ। तर, अधिकार खोज्ने तर कर्तव्य नबुझ्ने प्रवृत्तिले राज्य कमजोर हुँदै गएको छ।”

महासचिव पोखरेलले देशमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र बलियो बन्दै गएको उल्लेख गर्दै भने, “नेपालका नागरिक गरिब होइनन्, देश मात्र गरिब भएको हो। हामीले प्रकृतिलाई उपेक्षा गरेका छौं, बुझ्नुपर्ने कुरा बुझ्न सकेका छैनौं।”

उनले देशबाट भारततर्फ गइरहेको रेमिट्यान्स उल्लेखनीय रहेकाले श्रमिक अभावको अवस्था थप जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरे।

‘रिटर्नी’को ज्ञान र पुँजीले मुलुक समृद्ध हुने

कार्यक्रममा विशेष अतिथि उद्योगमन्त्री दामोदर भण्डारीले वैदेशिक रोजगारीबाट फर्केका युवाको ज्ञान, पुँजी र प्रविधिलाई स्वदेशको विकासमा लगाउन आवश्यक रहेको बताए। उनले भने, “रिटर्नीहरूले आर्जन गरेका सीप र अनुभवको सदुपयोग गर्न सके मुलुकको अर्थतन्त्र गतिशील बन्छ। कानुनी जटिलता र मन्त्रालयबीच समन्वयको अभावले औद्योगिक विस्तार अवरुद्ध भइरहेको छ।”

नेकपा एमालेका केन्द्रीय सदस्य डा. कृष्ण केसीले “रिटर्नीलाई राज्यले सम्बोधन नगर्दा उनीहरूको क्षमताको सदुपयोग हुन नसकेको” बताउँदै नेपाली उत्पादन गुणस्तरीय नहुँदा व्यापार घाटा बढिरहेको टिप्पणी गरे।

नवयुग कम्पनी : सामूहिक लगानीको नयाँ अभ्यास

रिटर्नी फेडेरेसनका अध्यक्ष विनोद प्रसाद भट्टराईले वैदेशिक रोजगारीबाट फर्केकाहरूको बिखरिएको पुँजीलाई एकीकृत गरी सामूहिक लगानीको अवधारणाअनुसार नवयुग इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिए।

कम्पनीका कार्यकारी निर्देशक शालिकराम बसेलले कार्यशालाको स्वागत गर्दै कम्पनीको रणनीतिक योजना प्रस्तुत गरे।

कार्यशालामा संविधान सभा सदस्य एवम् उद्यमी शान्ता चौधरी, बागमती प्रदेशसभा सदस्यहरू दिनेश चन्द्र देवकोटा र भारती पाठक, धुलिखेल नगरपालिकाका पूर्वप्रमुख अशोक बैजु, गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी लगायतले सम्बोधन गरेका थिए।

५ वर्षमा २५ अर्ब पुँजी संकलनको लक्ष्य

कम्पनीका अध्यक्ष घनश्याम पाण्डेका अनुसार नवयुग इन्भेष्टमेन्ट कम्पनीले आगामी पाँच वर्षभित्र २५ अर्ब रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको छ। दोस्रो वर्षमा २ अर्ब, तेस्रो वर्षमा ५ अर्ब र पाँच वर्षसम्ममा सो लक्ष्य पुरा गर्ने योजना रहेको उनले जानकारी दिए।

उनका अनुसार कृषि, पशुपालन, कृषि वन, पर्यटन, होटल तथा रेष्टुराँ, ऊर्जा, जलविद्युत, भौतिक पूर्वाधार, सूचना प्रविधि र नेपाली उत्पादनको निर्यात जस्ता क्षेत्रलाई प्राथमिकता दिँदै लगानी गरिनेछ। लगानीकर्तालाई वार्षिक १० देखि २५ प्रतिशतसम्म नगद मुनाफा वितरण गरिने योजना छ।

रोजगारी सिर्जनामा योगदान

रिटर्नी फेडेरेसनको प्रवर्द्धनमा स्थापना भएको नवयुग इन्भेष्टमेन्ट कम्पनीले स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्य लिएको हो। विगत आर्थिक वर्षमा मात्रै ८ लाख ३९ हजार २ सय ६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको पृष्ठभूमिमा यो पहललाई सशक्त विकल्पको रूपमा हेरिएको छ।

यो संख्याअनुसार दैनिक औसत २,३०० नेपाली नागरिक देश छाडेर वैदेशिक रोजगारीमा गइरहेका छन्। यस्तो अवस्थामा नवयुग इन्भेष्टमेन्ट कम्पनीले युवाहरूलाई स्वदेशमै रोजगारी तथा लगानीको अवसर प्रदान गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array