बिर्तामोड, पूर्व खबर
प्रेस चौतारी नेपाल झापाले पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न उद्देश्यसहित आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरेको छ।
संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापना गरिएको लेखनवृत्ति पहिलोपटक शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्मानपत्रसहित कान्तिपुर टेलिभिजनकी पत्रकार रमा दाहाललाई पहिलो लेखनवृत्ति प्रदान गर्नुभयो। पत्रकार दाहालको “मुस्लिम महिलाहरूको न्यायमा पहुँच पुग्न नसकेको विषय” सम्बन्धी समाचारलाई छनोट गरिएको थियो। उक्त लेखनवृत्तिका लागि पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले सहयोग गर्नुभएको थियो।
लेखनवृत्तिको दोस्रो चरण प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सह–इञ्चार्ज गोपाल काफ्लेले वित्तीय क्षेत्रमा, तेस्रो अग्रज पत्रकार खगेन्द्र भण्डारीले कृषि क्षेत्रमा र चौथो प्रेस चौतारीका कोशी प्रदेश सचिव लक्ष्मी उप्रेतीले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई नगदसहित प्रदान गर्ने घोषणा गरिएको छ। लेखनवृत्ति हरेक ६/६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो।
पत्रकार महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपानेले विषयसँगै दाता घोषणा गर्नुभएको कार्यक्रममा चौतारीका पदाधिकारी तथा स्थानीय नेताहरूले पत्रकारिताको विषयगत लेखनलाई प्रोत्साहन गर्ने कार्यले पेशागत नैतिकता र अनुसन्धानात्मक पत्रकारितामा थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसैबीच प्रेस चौतारी नेपाल झापाले नारी सञ्चार गृहमा हालै निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ। नगर प्रमुख प्रसाईले नवनिर्वाचित पदाधिकारीलाई खादा लगाइदैं शुभकामना दिनुभयो। कार्यक्रममा जिल्लाभरका महिला पत्रकारलाई दर खुवाइएको र तीज मिलन समारोह आयोजना गरी खुसी साटासाट गरिएको सचिव युवराज दाहालले जानकारी दिनुभयो।
कार्यक्रममा नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेकपा एमाले झापा उपाध्यक्ष शिव ढुङ्गेल, प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेश सह–इञ्चार्ज गोपाल काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उपाध्यक्ष सुनिरा मैनालीले स्वागत गर्नुभएको र कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गर्नुभएको थियो।
प्रेस चौतारी झापा स्थापनाकालदेखि नै पत्रकारिता व्यवसायको संरक्षण, पत्रकार अधिकार र व्यावसायिक क्षमतावृद्धिका लागि सक्रिय हुँदै आएको छ। विभिन्न तालिम, गोष्ठी, बहस–संवादसँगै पुरस्कार तथा सम्मानमार्फत पत्रकारलाई प्रोत्साहित गर्दै आएको चौतारीले यसपालि लेखनवृत्ति सुरु गरेर नयाँ उदाहरण प्रस्तुत गरेको हो ।





