सहारा साकोसले गर्यो रामचोकमा ३१औ जेष्ठ भवनको उद्घाटन

राजकुमार ओली: बिर्तामोड, १७ भदौ (रासस)
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ३२ लाख रुपैयाँ लागतमा निर्माण गरिएको सहारा जेष्ठ नागरिक भवनको उद्घाटन गरिएको छ। आज सोमबार बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँले भवनको उद्घाटन गर्नुभएको  हो ।
६५ फिट लम्बाइ र ४० फिट चौडाइमा बनेको उक्त भवन रामचोक सामुदायिक वन समितिको जग्गामा निर्माण गरिएको हो । भवन निर्माणमा बिर्तामोड नगरपालिकाले १० लाख, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले १० लाख र स्थानीयवासीले १२ लाख रुपैयाँ सहयोग जुटाएका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख प्रसाईँले बिर्तामोडलाई झापाको उत्कृष्ट नगरपालिका बनाउन नगरवासीले देखाएको साथप्रति आभार व्यक्त गर्नुभयो । उहाँले अब बिर्तामोड महानगरको सूचीमा प्रवेश गरिसकेको उल्लेख गर्दै अझ धेरै विकासका काम बाँकी रहेको बताउनुभयो ।
त्यसैगरी सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छविलाल खतिवडाले  सहारा सहकारीलाई नेपालकै उत्कृष्ट बनाउन योगदान पुर्‍याउने सबैलाई धन्यवाद  दिँदै अहिलेसम्म ३१ वटा जेष्ठ नागरिक सामुदायिक भवन निर्माण भइसकेको र सामाजिक उत्तरदायित्वमा सहकारी अझ सक्रिय हुँदै जाने जानकारी दिनुभयो ।
समारोहमा नगर उपप्रमुख नगेन्द्र संग्रौला, वडा अध्यक्ष किशोर पौडेल, सहकारीकर्मी डम्बर बस्नेत, रामचोक जेष्ठ नागरिक संस्थाका सचिव राम अधिकारी लगायतले जेष्ठ नागरिकको सम्मान र सेवामा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रामचोक सामुदायिक वन समितिका अध्यक्ष दिनानाथ सिग्देलको अध्यक्षतामा र सहारा जेष्ठ नागरिक भवन निर्माण समितिका सचिव भोला धितालको सञ्चालनमा सम्पन्न कार्यक्रममा भवन निर्माणप्रति सबै पक्षलाई धन्यवाद दिइएको थियो ।
बिर्तामोडस्थित रामचोक सामुदायिक वन २ बिघा १८ कट्ठा क्षेत्रफलमा फैलिएको छ । डिभिजन वन कार्यालय झापाअन्तर्गत ५९ सामुदायिक वन समूहमध्ये सबभन्दा कान्छो मानिने यस वन निर्माणाधीन एशियन हाइवेसँग जोडिएको र भौगोलिक दृष्टिले आकर्षक वन क्षेत्रका रूपमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array