सञ्जीवनी साकोसको १८औं वार्षिक साधारणसभा सम्पन्न

 

बिर्तामोड, ४ असोज
सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा शनिबार झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न भएको छ।

सभामा उत्कृष्ट ऋणी, असल बचतकर्ता, उत्कृष्ट सेयरधनी र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ।

सभामा बिर्तामोड–१ की अपेक्षा बुढाथोकी, बिर्तामोड–२ की अनामिका प्रधान, बिर्तामोड–५ का नवीन मेचे र हजुर–२ की ईश्वरी पराजुलीलाई उत्कृष्ट सेयरधनीका रूपमा सम्मान गरिएको हो। त्यस्तै, हल्दीबारी–२ की दिलकुमारी राई, बिर्तामोड–४ का विष्णुकुमार चौधरी, बिर्तामोड–९ की धनमाया श्रेष्ठ र भद्रपुर–६ का अशोक बर्मालाई उत्कृष्ट ऋणी घोषित गर्दै सम्मान गरिएको छ।

यसैगरी, संस्थाका सेयरधनीका सन्तानमध्ये एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी आर्यन शिवाकोटी र पुनम उप्रेतीलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमका वक्ताहरूले सहकारीको माध्यमबाट वित्तीय अनुशासन, पारदर्शिता र सदस्यबीच आपसी सहयोग बढाउनुपर्नेमा जोड दिएका थिए।

संस्थामा हाल २ हजार २९९ जना सेयरधनी रहेका छन्। सहकारीको सेयर पूँजी ३ करोड ८६ लाख रुपैयाँ, झगडाकोष ४ करोड ७ लाख रुपैयाँ, निक्षेप ३३ करोड ६ लाख रुपैयाँ र कर्जा लगानी ४३ करोड रुपैयाँ रहेको अध्यक्ष याम चुडालले सभामा प्रस्तुत प्रतिवेदनमार्फत जानकारी गराए। उनका अनुसार संस्थाले विगत वर्षको तुलनामा निक्षेप संकलन र कर्जा लगानी दुवैमा उल्लेखनीय प्रगति गरेको छ।

कार्यक्रमको उद्घाटन संस्थाका पेन्सन सदस्यहरूमध्ये जेष्ठ सदस्य चक्र खरेल र गणेश खरेलले पानसमा दियो बालेर गरेका थिए। स्वागत कोषाध्यक्ष शिवकुमार कटुवालले गरेका थिए भने सचिव मेघराज बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा लेखा समितिका संयोजक कमला शिवाकोटीले संस्थाको लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

सभामा अध्यक्ष चुडालले संस्थाको विगत वर्षको गतिविधि समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम प्रस्तुत गरेका थिए। उनले सहकारीलाई अझ सुदृढ र सबल बनाउन सदस्यहरूको निरन्तर सहभागिता, पारदर्शी वित्तीय प्रणाली र दक्ष व्यवस्थापन आवश्यक हुने बताए।

कार्यक्रममा स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, सहकारीका सदस्य तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो। सभाले आवश्यक निर्णयहरू सर्वसम्मतिपूर्वक पारित गरेको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array