राजकुमार ओली कन्काई झापा
झापाको कन्काई नगरपालिका–५ स्थित श्री चम्पापुर माध्यमिक विद्यालयमा बालबालिकाहरू घामपानी र वर्षाको असुविधाबिना खेल्न सकून् भन्ने उद्देश्यले बालउद्यानमा छानो निर्माण गरिएको छ।

काठमाडौँ निवासी समाजसेवी पार्वता राउत डंगोल र नवीन डंगोलको सहयोगमा सो उद्यानमा छानो निर्माण भएपछि विद्यालयले सहयोगी परिवारप्रति कृतज्ञता व्यक्त गरेको छ।

विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालाका अनुसार काठमाडौँकी डंगोल परिवारले पाँच लाख रूपैयाँ लागतमा विद्यालय परिसरमै कोशी प्रदेश सरकार र स्थानीय कन्काई नगरपालिकाको आंशिक सहयोगमा निर्माण भएको चिल्ड्रेन पार्क मा १ लाख ५० हजार रूपैयाँ बराबरको ट्रस्ट हालेर योगदान गरेका हुन्। “बालबालिकाको स्वास्थ्य र सहज खेल गतिविधि लक्षित गरी गरिएको यस सहयोगलाई विद्यालयले ऐतिहासिक मान्नेछ,” उनले बताए।

विद्यालयका अध्यक्ष खिममाया सिता बस्नेतका अनुसार विद्यालयमा हाल ४१२ विद्यार्थी अध्ययनरत छन्। नर्सरीदेखि कक्षा ७ सम्म अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा निजी तहका सात जना शिक्षक राखेर गुणस्तरीय शिक्षा दिने प्रयास भइरहेको छ। उनले भनिन्, “समाजसेवी परिवारको योगदानले सन्थाल (सतार) समुदायका बालबालिकासहित सबै विद्यार्थीलाई खेल–कुदमा सहजता मिल्ने भएको छ। यसलाई हामी शैक्षिक गुणस्तर उकास्ने अवसरको रूपमा लिएका छौँ।”

विद्यालयमा कक्षा १० सम्म पढाइ हुने व्यवस्था रहेको छ। यहाँ हाल ७ जना निजी शिक्षक र १४ जना दरबन्दी शिक्षक कार्यरत छन्। विद्यालय २०२० सालमा स्थापना भएको हो भने २०४६ सालदेखि यस विद्यालयले एसएलसी परीक्षा सञ्चालन गर्दै आएको छ। हालसम्म यहाँबाट एक हजारभन्दा बढी विद्यार्थी एसएलसी पास गरी उच्च सरकारी सेवासहित विभिन्न क्षेत्रमा कार्यरत रहेको विद्यालयले जनाएको छ।

विद्यालयका पूर्वविद्यार्थी तथा हाल स्वास्थ्य मन्त्रालयका उपसचिव टङ्क बाराकोटीले आफूले मेची अस्पतालको प्रमुख हुँदा समेत आफ्नै विद्यालयलाई प्राथमिकतामा राखेर सहयोग गरेको अनुभव सुनाए। उनले भने, “हामीले पढेका विद्यालयलाई सहयोग गर्ने परम्परा बसाल्न सके शिक्षा क्षेत्रमा ठूलो फड्को मार्न सकिन्छ।”

विद्यालयले प्राप्त गरेका अन्य सहयोगमध्ये परिसरमै विष्णु ओलीको पहलमा सरस्वती मन्दिर निर्माण, स्थानीय राधेश्याम अग्रवालको सहयोगमा खानेपानी कुलर जडान उल्लेखनीय छन्। यसैक्रममा हालै डंगोल परिवारको योगदानले विद्यालय परिसर झन् आकर्षक बन्दै गएको अध्यक्ष बस्नेतले बताइन्।

झापाको बिरीङ खोलाको किनारमा अवस्थित यो विद्यालय मुख्यतया सन्थाल समुदायका बालबालिकाको शिक्षाको केन्द्र बनेको छ। विद्यालयसँग कन्काई नगरपालिका–५ को लालपानी क्षेत्रमा करिब ६ बिघा जग्गा भए पनि त्यसबाट हालसम्म कुनै आम्दानी प्राप्त नभएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। अध्यक्ष बस्नेतका अनुसार पटक–पटक जग्गा भोग्नेहरूलाई तागेता गर्दा पनि भाडा वा ठेक्काको रकम पाउन नसक्दा विद्यालय सञ्चालनमै कठिनाइ भएको छ।

यसैबीच, विद्यालयका वर्तमान वडा अध्यक्ष तथा पूर्वविद्यार्थी लक्ष्मी ओलीले डंगोल परिवारले गरेको सहयोगलाई ऐतिहासिक योगदानको रूपमा लिँदै विद्यालयको समग्र शैक्षिक स्तरमा सकारात्मक प्रभाव पार्ने बताए। “यस्तो सहयोग निरन्तर हुने हो भने ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षाको अपेक्षा पूरा गर्न सकिन्छ,” उनले भने।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले पनि विद्यालयका पूर्वविद्यार्थी, अभिभावक र समुदायको सहकार्यबिनाको शैक्षिक सुधार सम्भव नहुने बताए। उनले भने, “नगरपालिका तर्फबाट आवश्यक सहयोग भइरहेको छ। तर वडावासी, समुदाय र पूर्वविद्यार्थी मिलेर अघि बढेमा यस विद्यालयले उत्कृष्ट नतिजा दिन सक्नेछ।”

समाजसेवी डंगोल परिवारले गरेको आर्थिक सहयोगले विद्यालय परिसरको स्वरूपमा मात्र सुधार ल्याएको छैन, विद्यार्थीलाई घामपानीबाट जोगाउँदै शारीरिक तथा मानसिक विकासमा समेत योगदान पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ। अध्यक्ष बस्नेतले भनिन्, “अबका दिनमा अन्य दाताहरूको हातेमालो पाए विद्यालय अझै आदर्श संस्थाका रूपमा स्थापित हुने विश्वास छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *