राजकुमार ओली, १३असोज,
व्यवसायी दुर्गा प्रसाईले मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको दाबी गर्दै नेपालीहरू एकजुट भएर देश जोगाउनुपर्नेमा जोड दिएका छन्।
फूलपातीको दिन बिर्तामोडमा एक धार्मिक समारोहलाई सम्बोधन गर्दै प्रसाईले पूजा स्थलमै देशप्रेमी शक्तिहरू नजाग्ने हो भने नेपाल पश्चिमा शक्तिको प्रभावमा परिसकेर अन्ततः गृहयुद्धतर्फ धकेलिने चेतावनी दिएका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै उनले हालको सरकारदेखि पूर्व प्रधानमन्त्री ओलीसम्म सबै नेताहरूले मुलुकलाई आजको अवस्थामा पुर्याएको आरोप लगाए। “देश डुब्नुको जिम्मेवार अहिलेका शासकहरू मात्र होइनन्, पूर्वका नेतृत्व पनि हुन्। यिनै कारणले आज नेपाल संकटको मोडमा पुगेको छ,” प्रसाईले भने।
उनले विशेष गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्व उपप्रधानमन्त्री रवि लामिछानेप्रति आक्रोश प्रकट गर्दै ती व्यक्तिहरूको विगतको गतिविधिले मुलुकलाई विदेशीको हातमा लैजाने खतरा देखिएको दाबी गरे। “आज नेपाल अमेरिकाको हातमा खेलिन लागेको छ। पश्चिमा शक्तिहरूले नियन्त्रण गर्न खोजिरहेका छन्। यदि नेपालीहरूले एक भएर प्रतिवाद गरेनन् भने देश टुक्रिन्छ,” उनले भने।
प्रसाईले पछिल्ला दिनमा सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी गर्ने षड्यन्त्रबारे आफूले जानकारी पाएको दाबीसमेत गरे। “देशका महत्वपूर्ण निकायमाथि आगो लगाउने तयारी भइरहेको थाहा पाएपछि हामी चुप बस्न सकेनौँ। पशुपतिनाथ मन्दिरमाथि समेत आगो लगाउने तयारी भएको सूचना पाएपछि मसँगका ४सय युवा साथीहरू त्यहाँ पठाएर पशुपति जोगाइएको हो,” उनले भने।
उनले नेपालीहरूलाई सावधान रहन आग्रह गर्दै अब ढिला नगरी राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए। “यदि हामी एक भएनौँ भने नेपाल सोमालिया बन्न बेर छैन। गृहयुद्ध सुरु हुन्छ, नेपाल अस्तित्वमै रहँदैन,” उनले चेतावनी दिए।
देश संकटतर्फ अघि बढिरहेको सन्देश दिन उनी आफैंले लगाएको ढाकाटोपी खोलेर भिख माग्ने शैलीमा सबै नेपालीलाई आह्वान गरे। “आज देश बचाउन सबै नेपालीले हातेमालो गर्नुपर्छ। अब विभाजन, राजनीति र व्यक्तिगत स्वार्थमा अल्झिने समय छैन। हामी सबै मिलेर मात्र नेपाललाई जोगाउन सक्छौँ,” प्रसाईले भने।
फूलपातीको अवसर पारेर गरिएको पूजामा उनले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता जोगाउनको लागि आ–आफ्नो ठाउँबाट उठ्नुपर्नेमा जोड दिएका थिए। उनका अनुसार मुलुकमा आन्तरिक असन्तुष्टि बढ्दै गएको र विदेशी शक्तिहरूले त्यसलाई प्रयोग गरेर अस्थिरता ल्याउन सक्ने सम्भावना प्रष्ट देखिएको छ।
उनले अहिलेको नेतृत्वले मुलुकलाई बर्बादीतर्फ धकेलेको भन्दै नयाँ राष्ट्रिय नेतृत्व उदाउनु पर्ने आवश्यकता औंल्याए। “साना–साना कुरामा फुट्ने, दलगत स्वार्थमा लड्ने परिपाटी अन्त्य गर्न जरुरी छ। राष्ट्रिय स्वाधीनता सबैभन्दा ठूलो हो,” उनले भने।
प्रसाईले नेपाललाई सुरक्षित गर्न युवाहरूको सक्रियता अत्यावश्यक रहेको उल्लेख गरे। उनका अनुसार आगामी दिनमा देशलाई संकटबाट जोगाउन आफूले अझ ठूलो अभियान सञ्चालन गर्ने तयारी गरेका छन्।
उनले अन्त्यमा भने, “अब नेपालीहरूको हातमा मात्र नेपाल बाँकी छ। हामी एक भएनौँ भने नेपाल विदेशीको खेलौना बन्छ, विभाजित हुन्छ, र सोमालिया जस्तै बर्बाद हुन्छ। त्यसैले नेपाल बचाउन सबै एकजुट हुनुको विकल्प छैन।”