राजकुमार ओली,इलाम १९ असोज,

अविरल वर्षापछि इलाम जिल्लाका विभिन्न स्थानमा गएराति आएको भीषण पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ। विभिन्न स्थानमा पहिरोमा परेर अहिलेसम्म १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलका अनुसार सबैभन्दा बढी क्षति सूर्योदय नगरपालिकामा भएको छ, जहाँ पाँच जनाको मृत्यु भएको छ। त्यस्तै, माङसेवुङ गाउँपालिका–१, पाटीगाउँमा तीन, देउमाई नगरपालिका–५ धारेका एक र सोही वडाको धुसुनीमा दुई, फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक र इलाम नगरपालिका–५ घोसगाउँका ६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। यससँगै इलाममा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ।

प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले इलामका साथै उदयपुर र खोटाङमा पनि जनधनको क्षति भएको बताएका छन्। उनका अनुसार उदयपुरमा एक र खोटाङमा एकजनाको पहिरोमा परी मृत्यु भएको छ। निरन्तर वर्षाका कारण कोशी प्रदेशका धेरैजसो क्षेत्र जलमग्न बनेका छन् भने सडक र संचारसमेत अवरुद्ध भएका छन्।

स्थानीय प्रशासनका अनुसार इलामका पहाडी क्षेत्रहरूमा गत दुई दिनदेखि निरन्तर भारी वर्षा भइरहेकाले जमिन कमजोर बनेको थियो। शनिबार राति करिब २ बजेको समयमा भीषण पहिरो खस्दा धेरै घरहरू पुरिएका थिए। कतिपय बस्तीहरूमा बाढी र पहिरो एकैसाथ पुगेपछि स्थानीयलाई भाग्ने मौका पनि मिलेन। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोलीले अहिले उद्धार र खोजतलास जारी राखेका छन्।

फाकफोकथुम, धारे, धुसुनी र पाटीगाउँमा पहिरोले घरैघर पुरिएका छन् भने घोसगाउँमा ठूलो भू–स्खलनले दर्जनौं घर विस्थापित भएका छन्। उद्धार टोलीले केही घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याएको छ। अहिले पनि केही व्यक्ति हराइरहेको अनुमान गरिएको छ।

प्रदेश विपद् व्यवस्थापन समितिका अनुसार इलाम, पाँचथर र झापामा लगातार १५० देखि २५० मिलिमिटरसम्म वर्षा भएको छ। यसले पहाडी क्षेत्रका खोला–नाला र नदीहरूमा आकस्मिक बाढीको जोखिम बढाएको हो। मौसम पूर्वानुमान महाशाखाले अझै २४ घण्टासम्म वर्षा हुने सम्भावना जनाएको छ।

मुख्यमन्त्री कार्कीले विपद्मा परेकाहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै निकायलाई सक्रिय हुन निर्देशन दिएका छन्। साथै, प्रदेश सरकारले तत्काल राहत सामग्री पठाउने तयारी गरेको जनाएको छ।

इलाम र आसपासका बस्तीहरूमा अहिले उच्च सतर्कता अपनाइएको छ। प्रहरी प्रमुख पोखरेलले सबैलाई सुरक्षित स्थानमा रहन र जोखिम क्षेत्रबाट टाढा बस्न आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *