राजकुमार ओली, बिर्तामोड:२४ असोज (पूर्व खबर)
संयुक्त राज्य अमेरिकाको नेब्रास्का राज्यस्थित न्यू लाइफ भुटानीज नेपाली चर्च ओमाहाले झापामा असोज १८ गतेबाटआएको बाढीपीडितहरूका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
चर्चका पादरी फुर्बा तामाङ, निमा तामाङ र पेम्बा तामाङको अगुवाइमा संकलित सहयोग रकम नेपाल पठाइएको हो।
चर्चका तर्फबाट सहयोग संकलनका संयोजक हरि गजमेर रहेका थिए। उनले रञ्जित गजमेरसहितको सक्रियतामा चर्चका सदस्यहरूबाट जम्मा गरिएको ७० हजार रुपैयाँ झापामा पठाइएको जनाएका छन्। सो रकम झापाको विभिन्न बाढी प्रभावित क्षेत्रमा राहतका रूपमा वितरण गरिएको हो।
सहयोग संकलन र वितरण कार्यमा कन्काई नगरपालिकामा रहेकोजामुनवारी वन उपभोक्ता समूहका सचिव दीपक ओलीले अग्रणी भूमिका निर्वाह गरेका छन्। उनका अनुसार चर्चका सदस्यहरू र अमेरिकास्थित भुटानी शरणार्थी समुदायबाट संकलन गरिएको उक्त रकम नेपाल पठाइएको हो।
उक्त राहत संकलन तथा वितरण कार्यक्रमलाई नेपालका पूर्व कृषिमन्त्री भक्ति सिटौला र सामाजिक अभियन्ता शेरबहादुर थापाले समेत आर्थिक सहयोग र सहजीकरण गर्नुभएको थियो। उनीहरूले राहत सामग्री बाढीपीडित परिवारसम्म प्रभावकारी रूपमा पु¥याउन स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायबीच समन्वय बढाउन सुझाव दिएका थिए।
झापामा असोजको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सयौँ घर डुबानमा पारेको थियो। शिवसताक्षी, गौरादह, अर्जुनधारा र झापा गाउँपालिका लगायतका बस्तीहरूमा ठूलो क्षति पुगेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
राहत रकम र सामग्री वितरण कार्य नेपाली सेना र नेपाल प्रहरीको सहजीकरणमा सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार बाढीले विस्थापित परिवारहरूको तत्काल राहतका लागि खाद्यान्न, लत्ताकपडा, सरसामान र अस्थायी आवासका सामग्री वितरण भइरहेको छ।
दीपक ओलीका अनुसार राहत वितरण कार्यलाई स्थानीय तह, प्रशासन र सुरक्षाकर्मीको समन्वयमा पारदर्शी ढंगले अघि बढाइएको छ। उनले अमेरिकास्थित नेपाली समुदायबाट आएको सहयोगले बाढीपीडितहरूमा आशा र आत्मबल जगाएको बताए।
हाल बाढी प्रभावित क्षेत्रमा सरसफाइ, नाली मर्मत र स्वास्थ्य शिविर सञ्चालन भइरहेका छन्। साथै स्थानीय युवा समूह र सामाजिक संस्थाहरूले पुनःस्थापनाका लागि समेत सहयोग जारी राखेका छन्।
झापामा आएको बाढीबाट ५ हजारभन्दा बढी घरधुरी प्रभावित र करिब २५ हजार व्यक्तिहरू विस्थापित भएका जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।