cURL Error: 0 अकबरे खोर्सानीबाट ५५ लाख आम्दानी - पूर्व खबर

अकबरे खोर्सानीबाट ५५ लाख आम्दानी

 

बिर्तामोड, ३ कात्तिक (रासस) — भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राई व्यावसायिक अकबरे खुर्सानी खेतीबाट वार्षिक करिब रु ५५ लाख आम्दानी गर्दै आएका छन्।

आफ्नै गाउँमा कृषिकर्मलाई उद्यमका रूपमा अघि बढाउने उद्देश्यले राईले करिब आठ वर्षअघिदेखि मौसमी तथा बेमौसमी दुबै प्रकारका खुर्सानीखेती गर्दै आएका छन्। हाल उनले करिब ४२ रोपनी क्षेत्रमा ३२ हजार बोट खुर्सानी लगाएका छन्।

राईका अनुसार खुर्सानीखेतीबाट हरेक वर्ष रु ५५ देखि ६० लाखसम्म आम्दानी हुने गरेको छ। उनले खेतीका लागि वार्षिक रु दुई लाख भाडामा ६५ रोपनी जग्गा लिई यसवर्ष करिब रु १२ लाख लगानी गरेको बताए। “युवाहरू विदेशिने क्रम बढ्दै गएको समयमा मैले आफ्नै बारीमा व्यावसायिक खेती गरेर रोजगारी सिर्जना गरेको छु,” उनले भने।

हाल राईको खेतमा चार जनाले स्थायी रूपमा रोजगारी पाएका छन्। सडक पहुँच राम्रो भएकाले उत्पादन घरमै बिक्री गर्न सहज भएको उनको भनाइ छ। पौवादुङमा उत्पादन हुने खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौँसम्म बिक्रीका लागि पठाइने गरिएको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन्।

गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार अकबरे खुर्सानी अहिले गाउँपालिकाको प्रमुख आम्दानी स्रोत बनेको छ। “हामीले भूगोलअनुसारका खेती प्रणालीमा जोड दिंदै कृषि क्षेत्रमा लगानी बढाइरहेका छौँ,” उनले भने।

गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। साथै गत आर्थिक वर्षमा ७५० किसानलाई करिब रु ७० लाख बराबरको मल्चिङ प्लास्टिक र अन्य कृषि सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

गाउँपालिकाको सहयोगात्मक कार्यक्रमपछि अहिले पौवादुङमा करिब ५०० हेक्टर क्षेत्रमा ९०० किसान व्यावसायिक रूपमा अकबरे खुर्सानीखेतीमा संलग्न रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *