अस्पताल बन्द गर्न मेचीनगर नगरपालिकाको निर्देशन

 

चारआली, २३ कात्तिक

मेचीनगर नगरपालिकाले कानुनी मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको भन्दै मेचीनगर–१३ चारआलीस्थित मनकामना अस्पताललाई सबै सेवा तत्काल बन्द गर्न निर्देशन दिएको छ।

नगरपालिकाको स्वास्थ्य शाखाले कात्तिक २० गते अस्पताल प्रालिलाई पत्र पठाउँदै अस्पतालले प्रदान गर्दै आएको सम्पूर्ण सेवा रोक्न अनुरोध गरेको हो। नगरपालिकाले यसअघि असोज ३० गते नै अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिका लागि आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गरेको थियो। तर, सो अस्पतालले अझैसम्म दर्ता र नविकरण प्रक्रिया पूरा नगरेको पाइएको छ।

नगरपालिकाका अनुसार कुनै पनि स्वास्थ्य संस्था सम्बन्धित तहमा दर्ता वा नविकरण नगरी सञ्चालन गर्नु गैरकानुनी कार्य हो। त्यसैले, सो प्रक्रिया पूरा नगरेसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन गरिएको मेचीनगर नगरपालिकाले जनाएको छ।

स्वास्थ्य शाखाका प्रमुखले बताएका छन्, “हामीले अनुगमनका क्रममा अस्पतालले दर्ता तथा नविकरण गरेको कुनै पनि कागजात प्रस्तुत गर्न सकेन। त्यसैले कानुनीरूपमा सेवा रोक्न निर्देशन दिनुपरेको हो।”

यसअघि स्वास्थ्य कार्यालय झापा र नगरपालिकाको स्वास्थ्य शाखाले संयुक्त रूपमा अनुगमन गर्दा अस्पतालले न त दर्ता गरेको देखियो, न त स्वास्थ्य शाखामा नविकरण प्रक्रिया पूरा गरेको थियो। डाक्टर दिलिपकुमार यादवको नाममा सञ्चालित उक्त अस्पताल अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।

विद्यमान कानुन अनुसार स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालन गरेको पाइएमा पहिलो चरणमा नगरपालिकाले लिखित चेतावनी पत्र पठाउँछ। त्यसपछिको अटेरमा ३० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ। दुवै चरणको आदेश पालना नगरेमा दर्ता प्रमाणपत्र खारेज गरी अस्पताल सञ्चालनमै रोक लगाउन सकिने प्रावधान रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले स्थानीय तह सञ्चालन ऐन र कार्यविधि अनुसार स्वास्थ्य शाखालाई नै अनुगमन र कारबाही गर्ने अधिकार रहेको स्पष्ट पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array