बिर्तामोड, कात्तिक २८ । पूर्वखबर
झापाको बिर्तामोडस्थित मेची आँखा अस्पतालमा जारी नेपाल अफ्थाल्मिक सोसाइटीको १६औँ वार्षिक सम्मेलनअन्तर्गत आज बिहान प्रभातफेरी सम्पन्न गरिएको छ। अस्पताल परिसरबाट शुरु भएको प्रभातफेरी बिर्ताबजार घुम्दै पुनः अस्पतालमै आएर टुंगिएको सोसाइटीका अध्यक्ष डा. पुरुषोत्तम जोशीले जानकारी दिनुभयो।
हिजोदेखि सुरु भएको सम्मेलन भोलि सम्पन्न हुनेछ। अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममा नेपालसहित विभिन्न देशका आँखा रोग विशेषज्ञको सक्रिय सहभागिता रहेको छ। मेची आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जोशीका अनुसार सम्मेलनले नेपालमा आँखा चिकित्साको क्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
तीन दिनसम्म चल्ने सम्मेलनमा वैज्ञानिक डा. सन्दुक रुइत, मेडिकल सुपरिन्टेन्डेन्ट डा. पुरुषोत्तम जोशी, वरिष्ठ नेत्र विशेषज्ञ डा. सुमन थापा र भारतीय वरिष्ठ चिकित्सक डा. ताराप्रसाद दासले विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १० जना वरिष्ठ चिकित्सकले सम्भाषण प्रस्तुत गर्ने छन् भने दर्जनौँ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्ने अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो।
सम्मेलनमा आँखा उपचार क्षेत्रका नवीनतम प्रविधि, अनुसन्धानका निष्कर्ष र चिकित्सकीय अभ्यासमा उपयोगी हुने विषयवस्तु प्रस्तुत गरिने भएकाले नेपाली नेत्र चिकित्सक र स्वास्थ्यकर्मीहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका लागि मेची आँखा अस्पताल क्षेत्र आकर्षक रूपमा सजाइएको छ। सम्मेलनसँगै २७औँ पूर्वाञ्चल क्षेत्रीय अफ्थाल्मिक सम्मेलन पनि एकैसाथ सञ्चालन हुँदैछ।





