बिर्तामोड,
पूर्वाञ्चलको प्रमुख नेत्र उपचार केन्द्र मेची आँखा अस्पतालले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा उद्यमी चण्डी पराजुलीलाई विशेष सम्मान प्रदान गरेको छ। बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महत्राको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पराजुलीलाई अस्पतालको विकास र समुदायमा आँखा स्वास्थ्य प्रवर्द्धनमा पुर्याएको उल्लेखनीय योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो।
कार्यक्रममा नगरप्रमुख महत्राले मेची आँखा अस्पतालले २९ वर्षयता निरन्तर प्रदान गर्दै आएको स्वास्थ्य सेवा, ग्रामीण क्षेत्रमा पुर्याइरहेको उपचार पहुँच र अत्याधुनिक प्रविधिको विस्तारले पूर्वी नेपाललाई नै लाभान्वित बनाएको उल्लेख गरिन्। उनले समुदायका व्यक्तिहरू तथा उद्यमीहरूको योगदान संस्थागत विकासका लागि महत्वपूर्ण हुने बताइन्।
अस्पतालका प्रतिनिधिहरूले पराजुलीले अस्पतालका विभिन्न पूर्वाधार व्यवस्था, सेवा विस्तार तथा जनचेतना अभियानमा निरन्तर साथ र सहयोग प्रदान गर्दै आएको कारण यस वर्षको सम्मान प्रदान गरिएको जानकारी दिए।
कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, स्थानीय प्रतिनिधि तथा सेवा लाभार्थीको उपस्थिति थियो। २९ वर्षदेखि आँखा उपचारमा अग्रणी रहँदै आएको मेची आँखा अस्पतालले आगामी वर्षहरूमा सेवा, प्रविधि तथा समुदायमै पुग्ने कार्यक्रमलाई अझ सुदृढ बनाउने घोषणा पनि गरेको छ।





