नेपाल खेलकुद महासङ्घ हातमा दहि जमाएर बस्दैन-अध्यक्ष बस्नेत

 

विराटनगर ।
नेकपा (एमाले)को जनसंगठन नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले पार्टीका नेता तथा कार्यकर्तामाथि आक्रमण र राजनीतिक गतिविधिमा अवरोध बढ्दै गएमा ‘टुलुटुलु हेरेर, हातमा दही जमाएर’ नबस्ने चेतावनी दिनुभएको छ। बारास्थित विमानस्थल बाहिर आज जेन–जी युवाहरू र एमाले कार्यकर्ताबीच भएको झडपलाई लक्षित गर्दै बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी सार्वजनिक गर्नुभएको हो।

अध्यक्ष बस्नेतले अवैधानिक रुपमा सञ्चालन भइरहेको सरकारले राजनीतिक दलले शान्तिपूर्वक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारसमेत खोस्ने प्रयास गरिरहेको आरोप लगाउँदै सामाजिक अराजकताविरुद्ध कडा कारबाही गर्नुपर्ने माग अघि सार्नुभएको छ। उहाँका अनुसार सरकारको कार्यशैलीले मुलुकमा अराजकतालाई प्रश्रय दिइरहेको छ, जसले आगामी चुनावको वातावरण नै प्रभावित परेकाे छ।
बस्नेतले देशभरका एमाले कार्यकर्तालाई संयमता अपनाउन आग्रह गर्दै पनि अनावश्यक अवरोध र योजनाबद्ध आक्रमण दोहोरिए कडा प्रतिवाद अवश्यम्भावी हुने संकेत गर्नुभयो।

आज परवानीपुर, बारा पुग्ने कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेललगायतका नेता सिमरा विमानस्थल हुँदै जाने सूचना बाहिरिएपछि आन्दोलित जेन–जी युवाहरू विमानस्थल क्षेत्रमै भेला भएका थिए। सो क्रममा प्रदर्शनकारी र एमाले कार्यकर्ताबीच धकेलाधकेल तथा झडपसमेत भएको थियो। घटनापछि उक्त विषय राष्ट्रिय रूपमा चर्चामा आएसँगै अध्यक्ष बस्नेतले सरकारलाई संवैधानिक अधिकार सुनिश्चित गर्न चेतावनी दिनुभएको हो।

यससँगै नेपाल खेलकुद महासङ्घले संगठनात्मक रूपमा पनि घटनाको गम्भीर मूल्यांकन थालेको बताइएको छ। महासङ्घका पदाधिकारीका अनुसार खेलकुदसँग प्रत्यक्ष राजनीतिक कार्यक्रम नजोडिए पनि जनसंगठनको जिम्मेवारीअनुसार नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा राजनीतिक कार्यक्रम सञ्चालनमा भइरहेको अवरोधविरुद्ध महासङ्घ ‘कडा एक्सन’मा उत्रिन तयार रहेको छ।

महासङ्घले हाल विभिन्न जिल्लामा रहेको संरचना सक्रियता, युवा परिचालन, खेलकुदमार्फत सामाजिक एकता र संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। अध्यक्ष बस्नेतका अनुसार संगठनले खेल क्षेत्रको विकाससँगै राष्ट्रप्रतिको प्रतिबद्धता, नागरिक स्वतन्त्रता र राजनीतिक स्थायित्वका पक्षमा जनचेतना अभिवृद्धि गर्ने गतिविधि निरन्तर अघि बढाउँदै आएको छ।

महासङ्घका अधिकारीहरूका अनुसार हालै खेलकुद पूर्वाधार विकास, प्रतिभा पहिचान, प्रशिक्षण कार्यक्रम र खेलकुदमैत्री वातावरण निर्माणका योजना तीव्रगतिमा अघि बढाइएको छ। खेलकुदका माध्यमबाट युवालाई सशक्त बनाउँदै राष्ट्रिय चरित्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्यसहित विभिन्न प्रदेशमा ‘युवा अभियान’ सञ्चालन गरिएको छ।

अध्यक्ष बस्नेतले सामाजिक अराजकता बढाउने, राजनीतिक दलहरूको शान्तिपूर्ण क्रियाकलापमा अवरोध पुर्‍याउने तथा नागरिक स्वतन्त्रता सीमित गर्ने गतिविधिलाई खेलकुद महासङ्घले गम्भीर रूपमा लिने पुनः स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार कानूनविपरीतका गतिविधिको विरोध र लोकतान्त्रिक अभ्यासको संरक्षण महासङ्घको दायित्व भएकाले आवश्यक परे संगठनात्मक कदम चाल्न तयार रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array