शिक्षक हित साकोसको १३औँ साधारण सभाबाट नयाँ नेतृत्व चयन, आर्थिक सूचक मजबुत

राजकुमार ओली, बिर्तामोड ५ पुष (पूर्व खबर)

— ‘सामूहिक उन्नति र आत्मसम्मान, शिक्षक हित साकोसको अभियान’ भन्ने नारासहित सञ्चालनमा रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३औँ वार्षिक साधारण सभामार्फत नयाँ नेतृत्व चयन गरेको छ। शनिबार बिर्तामोडमा सम्पन्न साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
झापा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष प्रेमकुमार काइरालाको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट कनकाईका हरिप्रसाद तिम्सिनाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा अर्जुनधाराका गोविन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ।
नवगठित सञ्चालक समितिका सदस्यहरूमा अर्जुनधाराका देउमाया दाहाल, हल्दिबारीका घनश्याम उप्रेती, मेचीनगरका प्रेमप्रसाद निरौला, दमकका ध्रुवराज खड्का, कचनकवलका विपना पौडेल, गौरीगञ्जका सन्ध्या ताजपुरिया तथा शिवसताक्षीका बेनुप्रसाद कार्की रहनुभएको छ।
यसैगरी, अर्जुनधाराका तुलसीप्रसाद भण्डारीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिएको छ। समितिका सदस्यहरूमा बिर्तामोडका भीमप्रसाद आचार्य र दमकका बन्दना भट्टराई चयन हुनुभएको छ।
साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म संस्थाको बैंक मौज्दात २ करोड २२ लाख ११ हजार ८७२ रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ दशमलव ५८ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, सो अवधिसम्म संस्थाको कुल बचत संकलन ३ करोड ८८ लाख ३५ हजार २९ रुपैयाँ पुगेको छ भने सेयर पुँजी ८६ लाख ७३ हजार ४०० रुपैयाँ रहेको छ। संस्थाबाट प्रवाह गरिएको कर्जा लगानी ३ करोड ७ लाख ३१ हजार ५७७ रुपैयाँ पुगेको अध्यक्ष गौतमले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ। हाल संस्थामा आबद्ध सेयर सदस्यको संख्या १ हजार ४२२ पुगेको छ।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष गौतमले संस्थाको आर्थिक प्रगति सन्तोषजनक रहेको उल्लेख गर्नुभयो। उहाँले विगतका वर्षहरूमा विधि, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राखेर गरिएको व्यवस्थापनकै कारण सहकारीले निरन्तर प्रगति गर्न सफल भएको बताउनुभयो।
अध्यक्ष गौतमका अनुसार आगामी दिनमा सहकारीको मुख्य लक्ष्य सदस्यहरूको आर्थिक सशक्तीकरणलाई थप मजबुत बनाउनु रहेको छ। त्यसका लागि बचत तथा कर्जाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, प्रविधिमैत्री सेवा विस्तार गर्ने, वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने योजना अघि सारिएको छ। साथै, शिक्षक र विद्यालय कर्मचारी लक्षित विशेष कर्जा योजना, आपत्कालीन सहयोग कोष र सामाजिक उत्तरदायित्व कार्यक्रमलाई पनि प्राथमिकतामा राखिने उहाँले बताउनुभयो।
प्रमुख अतिथि काइरालाले सहकारी संस्थाहरू पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षक हित बचत तथा ऋण सहकारीले शिक्षक तथा विद्यालय कर्मचारीहरूको आर्थिक आवश्यकता पूरा गर्न खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुसार अघि बढ्न सुझाव दिनुभयो।
कार्यक्रममा सहकारी अभियन्ता हरिचरण बानियाँलगायत वक्ताहरूले सहकारीको दिगोपन, सुशासन र सदस्य सहभागिताको महत्वबारे धारणा राख्नुभएको थियो।
साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, ज्येष्ठ सदस्य तथा उत्कृष्ट विद्यालय कर्मचारी सदस्यलाई सम्मान गरिएको थियो। यसैगरी, संस्थामा आबद्ध विद्यालय कर्मचारीका छोराछोरीमध्ये २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्र–छात्रालाई समेत सम्मान गरिएको छ।
साधारण सभामा संस्थाका सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहकारीले आगामी दिनमा पनि आर्थिक अनुशासन, पारदर्शिता र सदस्य हितलाई केन्द्रमा राख्दै संस्थालाई थप सबल र भरोसायोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array