झापा, पौष १८

झापा जिल्ला सहकारी सङ्घले चालू कार्यकालमा संस्थागत सुशासन, पारदर्शिता र सहकारी अभियानलाई सुदृढ बनाउन सातवटा नीति तथा कार्यविधि संशोधन र २६ वटा नयाँ नीति तथा कार्यविधि निर्माण गर्ने भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा गर्न शुक्रबार बिर्तामोडमा आयोजित सङ्घको २९औँ वार्षिक साधारण सभामा अध्यक्ष प्रेमकुमार कोइरालाले उक्त प्रस्ताव पेश गर्नुभएको हो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा अध्यक्ष कोइरालाले सङ्घको विनियम २०५० लाई संशोधनसहित पुनःलेखन गरिने जानकारी दिनुभयो । उहाँले आन्तरिक नीति तथा कार्यविधिहरू समयसापेक्ष परिमार्जन गर्दै आवश्यक थप नीति निर्माण गरिने बताउनुभयो ।
अध्यक्ष कोइरालाले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न जिल्ला सहकारी सङ्घले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै अबदेखि सङ्घका वित्तीय कारोबार विवरण मासिक रूपमा सार्वजनिक गरिने जानकारी दिनुभयो । जिल्लामा सङ्घले सदस्य संस्थामाझ बचत तथा ऋणको कारोबार समेत गर्दै आएको छ ।
सङ्घमा हाल ४९३ वटा सहकारी संस्था आवद्ध रहेका छन् । ती संस्थाहरू सङ्घका शेयरधनी रहेको उल्लेख गर्दै शेयर पूँजी चार करोड १२ लाख ५१ हजार २०० रुपैयाँ, निक्षेप बचत २१ करोड २२ लाख ३१ हजार ९६४ रुपैयाँ तथा कोष हिसाब आठ करोड १८ लाख ३७ हजार २५६ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सङ्घले ३२ वटा सदस्य संस्थालाई १७ करोड ५६ लाख ८४ हजार ५८० रुपैयाँ ऋण लगानी गरेको र असार मसान्तसम्म २३ लाख २९ हजार ६०६ रुपैयाँ सञ्चालन नाफा गरेको जनाइएको छ । ऋण लिएर नतिर्ने छ वटा सहकारी संस्थाविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा दुई संस्थाले पूर्ण रूपमा चुक्ता गरेको र चार संस्थाले आंशिक रूपमा कार्यान्वयन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि गिरी, राष्ट्रिय सहकारी बैंक लिमिटेड लेखा सुपरीवेक्षण समितिका संयोजक तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका उपाध्यक्ष मिनाकुमारी ढकालले सहकारी अभियानका समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष हरिचरण बानियाँले सङ्घको नाममा चारपानेमा खरिद गरिएको जमिन उपयोगविहीन अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सहकारी प्रशिक्षण केन्द्र निर्माणका लागि खरिद गरिएको उक्त जग्गा हाल जंगलमा परिणत भएको उल्लेख गर्दै उहाँले पूर्व तथा वर्तमान सञ्चालकहरूको ध्यानाकर्षण गराउनुभयो ।
साधारण सभा सङ्घका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष दुर्गाप्राद सापकोटाले अतिथिहरूको स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *