बिर्तामोड, झापा ।
झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयले ६३औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
शिक्षाको क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि योगदान पुर्याउँदै आएको विद्यालयले आफ्ना उपलब्धि, संघर्ष र समर्पणलाई स्मरण गर्दै वार्षिकोत्सव मनाएको हो ।
बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको अध्यक्षता रहेको थियो ।
समारोहमा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, अभिभावक, समाजसेवी, उद्योगी, शिक्षासेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।
कार्यक्रमको सुरुवात विद्यालयका शिक्षक उमेश कुमार शाहको स्वागत मन्तव्यबाट भएको थियो भने शिक्षक युवराज ढकालको स्वागत गीत प्रस्तुत गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।





