नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंमा
काठमाडौं। नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। देशभरका महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा आयोजना हुन लागेको महाधिवेशनका लागि बिहान ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता प्रक्रिया सुरु गरिएको छ।
आयोजकका अनुसार बिहान ९ बजेसम्म करिब १० प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेको जानकारी दिँदै दर्ता प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको बताए।
“बिहान ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले दर्ता गराइसक्नुभएको छ,” शिवाकोटीले भने, “सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। अहिले पनि लामो लाइन देखिन्छ, जसले सहभागिता उत्साहजनक हुने संकेत गर्छ।”
उनका अनुसार महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। देशका विभिन्न जिल्लाबाट प्रतिनिधि आउने क्रम जारी रहेकाले भृकुटीमण्डप क्षेत्र पूरै महाधिवेशनमय बनेको उनले बताए। महाधिवेशन स्थलमा शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताको समेत उपस्थिति बढ्दै गएको छ।
यसैबीच, विशेष महाधिवेशनको उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको छ। महाधिवेशन आयोजक समितिका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ।
सचिवालयका अनुसार बिहान ११ बजे सबै रुटबाट जुलुस प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरु हुनेछ। आजै बन्दसत्र समेत प्रारम्भ गरिने आयोजकले जनाएको छ। विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस चोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।





