काठमाडौँ, पुस २९ । नेपाल खेलकुद महासङ्घ (नेकोस) को पाँचौँ स्थायी कमिटी बैठक आज सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, राजनीतिक–खेलकुद सम्बन्धको मजबुती तथा पार्टी गतिविधिमा महासङ्घको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठक नेकपा (एमाले) का केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा महासङ्घका केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा स्वयंसेवकका रूपमा खटिएका खेलकुदकर्मीहरूलाई धन्यवादसहित प्रमाण–पत्र वितरण गरिएको थियो। पार्टीको महत्वपूर्ण राष्ट्रिय कार्यक्रम सफल बनाउन खेलकुद क्षेत्रबाट स्वस्फूर्त सहभागिता जनाउने स्वयंसेवकहरूलाई सम्मान गर्नु संगठनात्मक एकता र जिम्मेवारीबोधको सशक्त सन्देश भएको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा नेपाल खेलकुद महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतले महासङ्घलाई केवल खेलकुद गतिविधिमा सीमित नराखी राजनीतिक चेतना, संगठन विस्तार र अनुशासनयुक्त स्वयंसेवी अभियानसँग जोड्ने प्रयास निरन्तर गर्दै आएको योगदान विशेष रूपमा चर्चामा रह्यो। बस्नेतको नेतृत्वमा महासङ्घले पार्टीका राष्ट्रिय अभियानहरूमा खेलकुदकर्मीको भूमिकालाई संस्थागत रूपमा स्थापित गर्न सफल भएको बताइयो।
अध्यक्ष बस्नेतले आफ्नो सम्बोधनमा खेलकुदलाई अनुशासन, नेतृत्व विकास र राष्ट्रनिर्माणसँग जोड्ने दृष्टिकोण प्रस्तुत गर्दै पार्टीका हरेक अभियानमा महासङ्घ जिम्मेवार साझेदारका रूपमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले खेलकुद क्षेत्रबाट उत्पादन हुने ऊर्जालाई संगठन निर्माण, युवाको राजनीतिक चेतना र सामाजिक जिम्मेवारीमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सचिव भानुभक्त ढकाल, महासङ्घ इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य जगन्नाथ थपलिया तथा महासङ्घका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य पर्शुराम बस्नेतलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको थियो। यसले पार्टी र खेलकुद महासङ्घबीचको सम्बन्ध थप मजबुत भएको सन्देश दिएको छ।
प्रमुख अतिथि भानुभक्त ढकालले नेपाल खेलकुद महासङ्घले पार्टीका अभियानहरूमा खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष बस्नेतको नेतृत्वमा संगठन अनुशासित, सक्रिय र परिणाममुखी बनेको उल्लेख गर्नुभयो। उहाँले खेलकुद महासङ्घलाई पार्टी संगठनको महत्वपूर्ण जनसंगठनका रूपमा थप सुदृढ बनाउँदै लैजान आग्रह गर्नुभयो।
बैठकले आगामी दिनमा प्रदेश तथा जिल्ला तहमा खेलकुद महासङ्घको संगठन विस्तार, खेलकुदमार्फत युवालाई पार्टीसँग जोड्ने कार्यक्रम र राजनीतिक–सामाजिक अभियानमा सक्रिय सहभागिता बढाउने निर्णय गरेको छ। अध्यक्ष बस्नेतले महासङ्घलाई विचार, संगठन र सेवाभावको केन्द्र बनाउने प्रतिबद्धता दोहोर्याउँदै सबै पदाधिकारी र सदस्यलाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गर्नुभयो।
