पत्रकार सिटौलाको निधन, ४३ वर्षको उमेरमा ब्रेन ह्यामरेजबाट मृत्यु

काठमाडौं । वरिष्ठ पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। ब्रेन ह्यामरेज (एन्यूरिज्म रप्चर) भएपछि उपचाररत सिटौलालाई चिकित्सकले शुक्रबार दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन्।
अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई तत्काल काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको भए पनि उनको ज्यान जोगाउन सकिएन।
४३ वर्षीय सिटौला अविवाहित थिए। उनका परिवारमा पिता, एक दिदी र दुई दाजुभाइ छन्। उनको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा सक्रिय भूमिका निर्वाह गरेका थिए। चलचित्र पत्रकारितामा उनको योगदान उल्लेखनीय मानिन्छ।
हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानसँग सम्बन्धित कार्यका क्रममा उनी टोलीसँगै अछाम पुगेका थिए।
उनको निधनप्रति पत्रकारिता क्षेत्र, चलचित्रकर्मी तथा राजनीतिक वृत्तले गहिरो दुःख व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *