काठमाडौं । नेपालका ठूला बैंक बीच मर्जरको बहस सुरु भएको छ । छुट्टाछुट्टै वित्तीय कारोबार गरिरहेका यी दुई संस्थाबीच सहकार्य गर्दै अन्ततः मर्जरतर्फ जाने तयारी भइरहेको स्रोतहरूले बताएका छन् ।
दुवै संस्थाका शीर्ष पदाधिकारीबीच अनौपचारिक छलफल सुरु भइसकेको जनाइएको छ । नेफ्स्कुन पक्ष मर्जरका लागि सकारात्मक देखिए पनि सहकारी बैंकले नियामक को स्वीकृति आवश्यक पर्ने भएकाले औपचारिक सहमति जनाएको छैन ।
सरकारले अध्यादेशमार्फत सहकारी ऐन, २०७४ संशोधन गर्दै बचत तथा ऋण सहकारी संघलाई वित्तीय कारोबार गर्न रोक लगाएपछि नेफ्स्कुनले वैकल्पिक संरचनाको खोजी थालेको हो । संशोधित व्यवस्थाअनुसार ऐन लागू भएको मितिबाट तीन वर्षभित्र त्यस्ता संघहरूले बचत तथा ऋण कारोबार बन्द गर्नुपर्नेछ ।
नेफ्स्कुन निकट स्रोतका अनुसार सहकारी अभियानलाई दिगो र बलियो बनाउन राष्ट्रिय सहकारी बैंकसँग सहकार्य उपयुक्त विकल्पका रूपमा हेरिएको छ । सहकार्य मर्जरमार्फत वा अन्य संरचनात्मक समझदारीमार्फत हुन सक्ने चर्चा छ ।
सहकारी बैंक स्रोतले पनि नेफ्स्कुनबाट सहकार्यको प्रस्ताव आएको पुष्टि गरेको छ । स्रोतका अनुसार नेफ्स्कुनले पत्राचारमार्फत सहकारी अभियानलाई बलियो बनाउन दुवै संस्थाबीच सहकार्य र समझदारी आवश्यक रहेको उल्लेख गरेको छ । यद्यपि बैंकले नियामकीय प्रबन्ध र राष्ट्र बैंकको स्वीकृतिलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यसअघि पनि दुवै संस्थाबीच ब्याजदरमा एकरूपता, तालिमका मापदण्ड र कर्जा सूचना आदानप्रदानका विषयमा सहकार्य हुँदै आएको थियो । अब उक्त सहकार्यलाई थप संस्थागत बनाउने वा मर्जरमै जाने भन्ने विषयमा बहस सुरु भएको हो ।
हाल राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति निर्वाचनको प्रक्रिया चलिरहेकाले मर्जरबारे औपचारिक निर्णय भने भएको छैन । बैंक स्रोतका अनुसार नयाँ सञ्चालक समिति आएपछि यस विषयमा विस्तृत छलफल हुनेछ ।
यद्यपि सहकारी बैंक नेफ्स्कुनको वित्तीय अवस्थाप्रति पूर्ण रूपमा आश्वस्त देखिएको छैन । विशेषगरी बढ्दो खराब कर्जा अनुपात र बिनाधितो कर्जाको जोखिमप्रति बैंक पक्षले चासो व्यक्त गरेको बताइएको छ ।
दुवै संस्थाको वित्तीय अवस्था
राष्ट्रिय सहकारी बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको सेयर पुँजी २ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ रहेको छ । सञ्चित नाफा ३ अर्ब ८१ करोड ३८ लाख रुपैयाँ ऋणात्मक भए पनि जगेडा कोष ४ अर्ब ६ करोड ५२ लाख रुपैयाँ रहेको छ ।
बैंकले ४३ अर्ब ९ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८३ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालु आवको नौ महिनामा बैंकले ७१ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ भने निष्क्रिय कर्जा ३८.०५ प्रतिशत पुगेको छ ।
बैंकसँग १६ हजार ४९७ सेयर सदस्य, ५७ शाखा र करिब ३०० कर्मचारी रहेका छन् । पछिल्लो समय बैंकले शाखा संकुचन तथा कर्मचारी कटौतीको नीति अघि बढाएको छ ।
यस्तै नेफ्स्कुनको सेयर पुँजी १ अर्ब ४३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ५३ करोड ५४ लाख रुपैयाँ छ । नेफ्स्कुनले १७ अर्ब ४४ करोड २६ लाख रुपैयाँ बचत संकलन गरी ६ अर्ब ४८ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
संस्थासँग ८ अर्ब ५१ करोड ८० लाख रुपैयाँ तरलता, २० अर्ब २५ करोड ७८ लाख रुपैयाँ कुल सम्पत्ति तथा ४ हजार ३८६ सेयर सदस्य रहेका छन् । नेफ्स्कुनले पनि पछिल्लो समय कारोबार, शाखा र कर्मचारी संख्या घटाउँदै लगेको छ ।
ऐनले के भन्छ ?
सहकारी ऐन, २०७४ को परिच्छेद १५ मा सहकारी संस्थाबीच एकीकरणको व्यवस्था गरिएको छ । दफा ८७ अनुसार दुई वा दुईभन्दा बढी सहकारी संस्था आपसमा गाभिन सक्ने प्रावधान छ ।
तर राष्ट्रिय सहकारी बैंक को नियमनमा पनि रहेकाले बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को व्यवस्था समेत लागू हुन्छ । उक्त ऐनको दफा ६९ अनुसार राष्ट्र बैंकले आवश्यक ठानेमा बैंक तथा वित्तीय संस्थाबीच गाभ्ने, गाभिने वा प्राप्तिको अनुमति दिन सक्ने व्यवस्था रहेको छ ।
हाल राष्ट्रिय सहकारी बैंकको नेतृत्व महेन्द्र गिरीले र नेफ्स्कुनको नेतृत्व चन्द्रप्रसाद ढकालले गरिरहेका छन् ।



