राजकुमार ओली,बिर्तामोड, जेठ १२। झापाको बिर्तामोड क्षेत्रमा शान्ति सुरक्षा थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जिम्मेवारी सम्हालेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीमा सरुवा भएर आएका डीएसपी पाठकले आज सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्दै बिर्तामोडको सुरक्षा अवस्था सुदृढ बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका हुन्।
प्रेसमिट कार्यक्रममा उनले लागूऔषध नियन्त्रण, चोरी, लुटपाट, सामाजिक अपराध तथा सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइने बताए। पछिल्लो समय झापाका विभिन्न क्षेत्रमा लागूऔषध कारोबार र दुव्र्यसनका घटना बढिरहेका बेला प्रहरीले त्यसविरुद्ध विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको उनको भनाइ थियो।
“बिर्तामोड व्यापारिक तथा अत्यन्त संवेदनशील क्षेत्र भएकाले यहाँको शान्ति सुरक्षा मजबुत बनाउनु हाम्रो मुख्य दायित्व हो,” डीएसपी पाठकले भने, “लागूऔषध कारोबार, चोरी तथा संगठित अपराध नियन्त्रणमा प्रहरीले कठोर रूपमा काम गर्नेछ।”
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बिर्तामोड क्षेत्रमा बढ्दो अव्यवस्था, ट्राफिक समस्या तथा अवैध सवारी सञ्चालनबारे प्रहरीको ध्यानाकर्षण गराएका थिए। सञ्चारकर्मी गणेश पराजुलीले विशेषगरी सिटी सफारी र टेम्पो क्षेत्रमा देखिएको कालोबजारी तथा अनियमितता नियन्त्रण गर्न माग गरे।
उनले भारतीय नम्बर प्लेटका सवारीसाधन नेपालमा अवैधरूपमा सञ्चालन भइरहेको आरोप लगाउँदै त्यसले स्थानीय व्यवसायी तथा वैधानिक रूपमा सञ्चालनमा रहेका चालकहरू मर्कामा परेको बताए। “काम चलाउने नाममा भारतबाट ल्याइएका सवारीसाधन सञ्चालन हुँदा राज्यलाई राजस्व घाटा भइरहेको छ,” उनले भने, “यस्ता अवैध रूपमा चलाइएका टेम्पो तथा अटोमाथि कारबाही आवश्यक छ।”
सञ्चारकर्मीहरूले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन, सवारी पार्किङ व्यवस्थित गर्न तथा रातिको समयमा हुने चोरीका घटना नियन्त्रण गर्न पनि प्रहरीलाई आग्रह गरेका थिए।
डीएसपी पाठकले सञ्चारकर्मीहरूले उठाएका विषयलाई गम्भीर रूपमा लिएको बताउँदै कानुनविपरीत सञ्चालन हुने सवारी तथा अवैध गतिविधिमाथि निगरानी बढाइने स्पष्ट पारे। उनले स्थानीय तह, ट्राफिक प्रहरी तथा सरोकारवाला निकायसँग समन्वय गरेर समस्या समाधानतर्फ अघि बढ्ने बताए।
उनका अनुसार सीमावर्ती क्षेत्र भएकाले झापामा लागूऔषध ओसारपसार, चोरी पैठारी तथा अवैध कारोबार चुनौतीका रूपमा रहेको छ। त्यसलाई नियन्त्रण गर्न विशेष सुरक्षा रणनीति अपनाइने उनले बताए। “सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय हुन्छ,” उनले भने, “कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइनेछ।”
डीएसपी पाठकले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ मजबुत बनाउन समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखिने पनि बताए। उनले स्थानीयवासी, व्यवसायी तथा सञ्चार क्षेत्रसँग सहकार्य गरेर अपराध नियन्त्रण अभियान प्रभावकारी बनाइने उल्लेख गरे।
उनले प्रहरी संगठनप्रति जनविश्वास कायम राख्न निष्पक्ष र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिइने बताए। “प्रहरी जनताको सुरक्षाका लागि हो,” उनले भने, “हामी कानुन कार्यान्वयनसँगै नागरिकमैत्री व्यवहारमा पनि उत्तिकै संवेदनशील हुनेछौँ।”
प्रेसमिट कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले नयाँ नेतृत्वबाट बिर्तामोडको सुरक्षा व्यवस्थामा सुधार आउने अपेक्षा व्यक्त गरेका थिए। उनीहरूले बजार क्षेत्रमा बढ्दो भीडभाड, रात्रीकालीन अव्यवस्था तथा लागूऔषध दुव्र्यसन नियन्त्रणमा प्रहरी सक्रिय हुनुपर्ने धारणा राखेका थिए।
बिर्तामोड झापाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित क्षेत्र हो। यहाँ दैनिक ठूलो संख्यामा मानिसको आवतजावत हुने भएकाले सुरक्षा चुनौती पनि बढ्दो छ। नयाँ डीएसपीको आगमनसँगै अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र अवैध गतिविधिमाथि कडाइ हुने अपेक्षा स्थानीयवासीले गरेका छन्।



