बिर्तामोड,१५ जेठ। राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक व्यावसायिक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ ।
भद्रपुर नगरपालिका–८ र ९ मा सञ्चालित ‘हडिया रियल टी इस्टेट’ले आफ्नो ६० बिगाहा क्षेत्रफलमा चिया र सुपारीको व्यावसायिक खेती एकसाथ अघि बढाएको हो । चिया र सुपारीको पर्यावरणीय आवश्यकता अनुरुप जलवायु र माटो एकअर्कासँग निकै मिल्दोजुल्दो भएकाले मिश्रित खेती सुरु गरिएको इस्टेटका सञ्चालक भक्ति अधिकारीले जानकारी दिनुभयो ।
“सुपारीको अग्लो बोटले चिया झाडीलाई आवश्यक पर्ने हलुका छहारी दिन्छ,” उहाँले भन्नुभयो– “यसबाट एउटै बगान र एउटै लगानीबाट चिया र सुपारी दुवैको दोहोरो लाभ लिन सकिन्छ ।” झापामा कुनै व्यावसायिक कम्पनीले संस्थागत रूपमै अन्तरबालीका रूपमा यी दुवै बालीको खेती एकसाथ गरेको यो पहिलोपटक हो ।
उक्त बगानमा करिब एक दशकअघि नै चियाका बिरुवा रोपेर उत्पादन लिन थालिएको थियो भने सुपारीका बिरुवा तीन वर्षअघि मात्र थपिएको हो । हाल ६० बिगाहा क्षेत्रफलमा ६० हजार सुपारीका बोटहरू हुर्किरहेका छन् । चियाले लगातार उत्पादन दिइरहेको भन्दै उहाँले सुपारीले भने अबको चार वर्षपछि मात्र उत्पादन दिन थाल्ने बताउनुभयो ।
चिया बगानभित्र सुपारी विस्तारका लागि कम्पनीले रु. एक करोड अतिरिक्त लगानी गरिसकेको जनाएको छ । आगामी दिनमा कूल १०२ बिघा चिया बगानमै अन्तरबालीका रूपमा सुपारी खेती विस्तार गर्ने कम्पनीको योजना छ ।
“हाम्रो बगानमा चिया पहिल्यै थियो,” मिश्रित खेतीको अनुभव सुनाउँदै अधिकारीले भन्नुभयो– “भारतको आसाम भ्रमणका क्रममा त्यहाँ चिया बगानभित्रै सुपारीका बोटहरू हुर्काएको देखेपछि मलाई पनि यो सोच आएको हो । हामीले आसामबाटै उन्नत जातको सुपारीको दाना ल्याएर आफ्नै नर्सरीमा बिरुवा तयार गर्यौँ । अहिले ती बोटहरू तीन वर्षका भइसके ।”
ऐतिहासिक रूपमा भारतबाटै नेपाल भित्रिएका यी दुवै बालीको मुख्य निर्यात बजार पनि भारत नै हो । हाल नेपालका ३१ जिल्लाको २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती फैलिएको छ भने सुपारी खेती मुख्य गरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरी करिब चार हजार हेक्टरमा छ ।
मुलुकको कूल सुपारी उत्पादन र क्षेत्रफलको दुई तिहाइभन्दा बढी हिस्सा झापा जिल्लाले मात्र ओगटेकाले यसलाई ‘सुपारीको राजधानी’ समेत भनिन्छ । जिल्लाको करिब तीन हजार हेक्टरमा सुपारी खेती हुन्छ । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका सुपारी उत्पादनका प्रमुख केन्द्र हुन्, जहाँ रैथाने किसानहरूले परम्परागत रूपमै यसको खेती गर्दै आएका छन् ।
पछिल्लो समय झापामा छहारी मन पराउने बालीहरू चिया, मरिच, अलैंची र केराको अन्तरबाली लगाएर एउटै जमिनबाट बहुआयामिक लाभ लिने उत्कृष्ट अभ्यास भइरहेको छ । मेचीनगर नगरपालिका–४ का अगुवा किसान रबि नेपालले यसअघि नै व्यक्तिगत रूपमा यस्तो मिश्रित खेतीबाट मनग्य आम्दानी गरिरहनु भएको छ ।
तर, व्यावसायिक स्तरमा ठूलो लगानी गरेर चिया र सुपारीको मिश्रित खेती गर्ने जोखिम हडिया रियल टी इस्टेटले पहिलोपटक उठाएको हो । बगानमा सुपारीका बोटहरू क्रमशः हुर्किँदै गएपछि छहारीका लागि पहिले लगाइएका सिरिस लगायतका रुखहरू हटाइएको छ । कम्पनीले सुपारी खेतीको छुट्टै हेरचाह, गोडमेल र मलजलका लागि विशेष प्राविधिक तथा श्रमिकहरू समेत परिचालन गरेको जनाएको छ ।
हडिया इस्टेटको यो मिश्रित खेती मोडेल सफल भएमा जिल्लाका अन्य ठूला चिया बगानहरूमा पनि सुपारी खेती विस्तारको नयाँ ढोका खुल्नेछ । यसैको सिको गर्दै मेचीनगर नगरपालिका–१५ स्थित ‘बंशल टी इस्टेट’ले पनि परीक्षणका रूपमा चिया बगानभित्र सुपारीका बिरुवा रोप्न सुरु गरिसकेको छ । रासस



