cURL Error: 0 समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक, सम्पत्ति लुकाएको सूचना दिन आग्रह - पूर्व खबर

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक, सम्पत्ति लुकाएको सूचना दिन आग्रह

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको उपलब्ध नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार सहकारी संस्थाका सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ।
कार्यालयद्वारा जारी सूचनामा सार्वजनिक गरिएको विवरणमा कुनै त्रुटि, फरक वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित व्यक्ति तथा पक्षलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै, सार्वजनिक नामावलीमा रहेका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भए त्यस्ता विवरण उपलब्ध गराउन पनि सर्वसाधारणसँग अनुरोध गरिएको छ।
समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई सहकारीको दायित्व फछ्र्योट, ऋण असुली, सम्पत्तिको पहिचान तथा व्यवस्थापन प्रक्रियामा आवश्यक सहयोग गर्न आग्रह गरेको छ। समितिले सहयोग नगरे प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
सार्वजनिक गरिएको विवरणमा विभिन्न समस्याग्रस्त सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक समिति सदस्यहरूको नाम, ठेगाना र पारिवारिक विवरण समावेश गरिएको छ। सूचीमा हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो संसारमा बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लगायतका समस्याग्रस्त सहकारीका पदाधिकारीहरूको नाम उल्लेख गरिएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार बचतकर्ताको रकम फिर्ता गराउने, सहकारीको सम्पत्ति खोजी गर्ने तथा दायित्व व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको हो। समितिले सहकारीमा बचत गरेका सर्वसाधारणको हितलाई केन्द्रमा राखेर आवश्यक अनुसन्धान, सम्पत्ति पहिचान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका वित्तीय अनियमितता र बचतकर्ताको रकम फिर्ता नहुने समस्याका कारण सरकारले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। यसै क्रममा सञ्चालकहरूको विवरण सार्वजनिक गरी उनीहरूको जिम्मेवारी सुनिश्चित गर्ने तथा लुकाइएका सम्पत्तिको खोजीमार्फत बचतकर्ताको रकम फिर्ता गराउने प्रयासलाई तीव्र बनाइएको समितिको भनाइ छ।
समितिले सहकारीका सञ्चालक, बचतकर्ता तथा सरोकारवाला सबै पक्षलाई तथ्यपरक सूचना उपलब्ध गराई अनुसन्धान तथा व्यवस्थापन प्रक्रियामा सहयोग गर्न समेत आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *