झापा २ मा चुनावी सरगर्मी: सभामुखदेखि कानुनबिदसम्म

राज कुमार ओली÷रासस
भद्रपुर (झापा), २१ माघ ः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर २ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । निवर्तमान सभामुख र उपसभामुख सहित पूर्वमन्त्री, संविधानसभा सदस्य, कानुनविद् तथा युवा अभियन्तासम्म चुनावी मैदानमा उत्रिएपछि यस क्षेत्रको राजनीतिक वातावरण थप रोचक बनेको छ ।
यस निर्वाचन क्षेत्रमा १५ वटा राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) बाट देवराज घिमिरे, नेपाली काँग्रेसबाट सरिता प्रसाई, नेपाल कम्युनिष्ट पार्टीबाट धर्मशिला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपाल, जनमत पार्टीबाट रमेश कुमार राजवंशी, नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु, मंगोल नेशनल अर्गनाइजेसनबाट अकलबहादुर तामाङ, नेपाल जनमुक्ति पार्टीबाट मानबहादुर पुलामी मगर तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) बाट श्रीप्रसाद सिटौला चुनावी प्रतिस्पर्धामा छन् ।
यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती, श्रम संस्कृति पार्टीबाट केशवकुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट अर्जुनकुमार पाण्डे, उज्यालो नेपाल पार्टीबाट चुडाकर्ण बेघा तथा जनता समाजवादी पार्टीबाट तिलबहादुर राई तथा पुण्यप्रसाद आचार्य, रमेशकुमार कार्की र युवराज संग्रौलाले स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् ।
निर्वाचन आयोगको तथ्याङ्क अनुसार झापा–२ अन्तर्गत अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिकाको वडा नं. ८ र ९, बुद्धशान्ति गाउँपालिकाको वडा नं. १, २ र ३ तथा बिर्तामोड नगरपालिकाको वडा नं. १ देखि ९ सम्म पर्दछन् । आयोगका अनुसार यहाँ एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् भने ४९ मतदान स्थलमा १६५ मतदान केन्द्र तोकिएका छन् ।
गत वि.सं. २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का देवराज घिमिरे २८ हजार ७१६ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उक्त निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएका भद्रप्रसाद नेपालले २६ हजार ४५५ मत प्राप्त गर्दै उपविजेतामा चित्त बुझाउनु परेको थियो । साथै सो निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का हरिकुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गर्नुभएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले आठ हजार ७८१ मत थियो । यसपटक गत निर्वाचनका उपविजेता भद्रप्रसाद नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुनः चुनावी मैदानमा हुनुहुन्छ ।
आयोगको तथ्याङ्कअनुसार गत वि.स. २०७९ को निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिक तर्फ नेकपा (एमाले) ले सबैभन्दा बढी २६ हजार ४९० मत प्राप्त गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ५१७, नेपाली काँग्रेसले १५ हजार ४९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात हजार ८८०, नेकपा (माओवादी केन्द्र) ले तीन हजार ३८६ तथा नेकपा (एकीकृत समाजवादी) ले एक हजार १६९ मत प्राप्त गरेका थिए ।
गत निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल भएको थियो भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) ले समर्थन गरेका थिए । यस क्षेत्रको निर्वाचन इतिहास हेर्दा वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) की पवित्रा खरेल निर्वाचित हुनुभएको थियो । दोस्रो संविधानसभा निर्वाचन २०७० मा नेकपा (एमाले) का प्रेम गिरी र पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका धर्मशिला चापागाईं निर्वाचित हुनुभएको थियो । वि.सं. २०४७ पछि वि.स. २०६४ भन्दा अघिका निर्वाचनमा पनि नेकपा (एमाले) विजयी हुँदै आएको क्षेत्रका रूपमा झापा–२ चिनिँदै आएको छ ।

निवर्तमान सभामुख समेत रहनुभएका नेकपा (एमाले) का उम्मेदबार देवराज घिमिरेले तीन वर्षको छोटो कार्यकालमा धेरै अधुरा विकास कार्यहरू अघि बढाएको र ती पूरा गर्न पुनः जनताको समर्थन आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “हात्ती प्रभावित क्षेत्रमा सुरक्षाका लागि देउनिया खोलामा फेन्सिङ तार जडान गरियो, बिर्तामोड–अर्जुनधारा–बुद्धशान्ति मुख्य चोकहरूमा सडक विस्तार भयो, र भद्रपुर–बिर्तामोड चार लेन सडक अन्तिम चरणमा पुगेको छ । म सधैं सुकुम्बासी, किसान र विपन्नसँग नजिक रहेर काम गर्दै आएको छु ।”
रास्वपा उम्मेदबार एंव निवर्तमान उपसभामुख इन्दिरा राना मगरले यसै क्षेत्रमा जन्मेर हुर्किएको बताउँदै आमा भएर पनि सहाराविहीन र टुहुरा बालबालिकालाई सहयोग गर्दै आएको अनुभव शेयर गर्नुभयो । उहाँले भन्नुभयो “उपप्रमुखको हैसियतमा सुरु गरेका विकासका कामलाई निरन्तरता दिन र संविधान निर्माणमा बाँकी रहेका महत्वपूर्ण काम पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ । संविधानमार्फत सामाजिक न्याय र समावेशिता अझ बलियो बनाउने मेरो प्रतिबद्धता छ ।”
नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदबार एंव पूर्वमन्त्री धर्मशिला चापागाईंले बिर्तामोडलाई उपमहानगरपालिका बनाउँदै ‘स्मार्ट सिटी’ बनाउने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिर्तामोडमा महिला अस्थायी आवास गृह स्थापना गरी सहाराविहीन महिला र दिदीबहिनीका लागि सुरक्षित आवास निर्माण गर्न लागिपरेको छु । केचनादेखि कञ्चनजङ्घासम्म सडक जोड्दै युवालाई पर्यटनसँग संलग्न गराउने, साथै साधुटार जलेश्वर धाम र गारामुनिको दुर्गा मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य छ ।”
नेपाली काँग्रेसकी उम्मेदवार सरिता प्रसाईले अब नेतृत्व युवा पुस्ताले लिनुपर्ने बताउँदै युवामैत्री कानुन र नीति निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले महिला र युवालाई कृषि क्षेत्रमा संलग्न गरी आत्मनिर्भर बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।
स्वतन्त्र उम्मेदवार पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले कानुनी सुधार र संविधान संशोधन आवश्यक रहेको बताउँदै देशलाई सही दिशामा लैजान संसदमा पुग्न उम्मेदवारी दिएको बताउनुभयो । राप्रपा उम्मेदबार भद्रप्रसाद नेपालले आफ्नो मुख्य एजेन्डा हिन्दू राज्य र सनातन धर्मको संरक्षण रहेको बताउनुभयो ।
उम्मेदवारहरूले आ–आफ्नो जितको दाबी गरिरहँदा स्थानीय नागरिकहरूले भने नयाँ प्रतिनिधिले कृषि, ऊर्जा र उद्योगमा लगानीको वातावरण बनाउनेमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । अर्जुनधारा–८ निवासी मेहर मगरले भन्नुभयो, “कृषि क्रान्ति र साना उद्योगमा लगानी बढाउन सके अर्जुनधारा, बिर्तामोड र पहाडी भूगोल आफैँमा समृद्ध बन्नेछ । शिक्षा, स्वास्थ्य र साना उद्योगमा लगानी प्रवद्र्धन गर्ने र किसानका समस्या नजिकबाट बुझ्ने सांसद चाहिन्छ ।”
यस्तै बिर्तामोड–४ का कृष्ण चुडालले पनि व्यवसाय अनुभवको आधारमा बिर्तामोडको समग्र विकासका लागि मेडिकल हब, शैक्षिक विकास र चारपाने क्षेत्रमा औद्योगिक पार्क स्थापना गर्न सक्ने दूरदर्शी सांसदको आवश्यकता रहेको बताउनुभयो ।
झापा–२ मा बहुआयामिक विकासका योजना, चर्चित उम्मेदवार र स्थानीयको उच्च अपेक्षाले यस निर्वाचनलाई सर्वत्र चासोको केन्द्र बनाएको छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *