दमक (झापा), दमक–१७ का पूर्व वडा अध्यक्ष भक्ति सिटौलाले आफूले दुईवटा नागरिकता लिए पनि कुनै पनि कानुन नमीचिएको दाबी गरेका छन्।
आफूले काम गर्ने क्रममा नागरिकता बिग्रिएपछि नयाँ नागरिकता लिएको र सो प्रक्रिया कानुनअनुसार नै भएको उनको भनाइ छ। सिटौलाले नेपालका कुनै पनि कानुन मिचेर काम नगरेको स्पष्ट पारेका छन्। उनले आफूले पहुँच पुर्याएर नागरिकता नलिएको कसैले आफ्नै इच्छाले नागरिकता बनाएको भए आफूलाई सो विषयमा जानकारी नभएको उनको दाबी छ।
पछिल्लो समय झापाका विभिन्न ठाउँमा कृते नागरिकता र नेपाल सरकारको लेटरप्याड र स्ट्याम प्रयोग गरी नागरिकता लिनेहरूको विषयमा उजुरी परेपछि झापाको जिल्ला प्रशासन कार्यालयले कडाईका साथ कारबाही प्रक्रिया अघि बढाएको हो।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आफ्नो टिमै बनाएर प्रहरीको सहयोगमा यस्ता काम गर्नेहरूको विरुद्ध छानबिन कडा पारेको बताएका छन्।।
पूर्वखबरमा प्रकाशित समाचारप्रति असहमति जनाउँदै उनले पहिले एक जिल्लाबाट नागरिकता लिएको र पछि अर्को जिल्लाबाट नयाँ नागरिकता लिएको भए पनि त्यसले कानुन उल्लङ्घन नगरेको दाबी गरे।
सार्वजनिक सम्पत्ति हिनामिना गरेको आफूलाई जानकारी नभएको उल्लेख गर्दै उनले कुनै दिन भुलबस त्यस्तो भएको प्रमाणित भए सम्बन्धित जग्गा फिर्ता गर्ने र नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
आफ्नो नाममा रहेको सडकको जमिन मिचेर घर, गोठलगायत भौतिक संरचना निर्माण गरेको आरोपमा उजुरी परेपछि आफू दुःखी भएको उनले बताए। सिटौलामाथि वडा अध्यक्ष पदको पहुँच प्रयोग गरी सार्वजनिक सम्पत्तिमा भौतिक संरचना निर्माण गरेको आरोप लागेको छ। गत माघ महिनामा झापाको बिर्तामोड३ स्थित बिरताबजारमा नक्कली नागरिकता बनाउने गिरोहलाई पक्राउ गर्दै नागरिकता सम्बन्धीका अन्य महत्वपूर्ण कागजहरु समेत फेला पारेको थियो।
उक्त घटनापछि तत्कालीन झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुको अगुवाइमा दमक झिलझिले बिर्तामोड मेचीनगर लगायतका क्षेत्रमा समेत यस्ता नागरिकताहरूको विषयमा उजुरी आफूहरुलाई आएको र अनुसन्धानलाई तीव्र पारेको प्रहरी प्रवक्ता खड्काले बताएका हुन ।
सिटौलाको विषयमा सडकको बाटो मा भौतिक संरचना बनाएको विषयमा छलफल र उजुरी समेत परेको थियो ।उक्त विषयमा दमक नगरपालिकाको न्यायिक समितिमा मुद्दा दर्ता भई छलफलसमेत भएको र छानबिनपछि सार्वजनिक सम्पत्ति खाली गराउने विषयमा छलफल भएको जनाइएको छ।
यदि सार्वजनिक सम्पत्तिमा भुलबस भौतिक संरचना निर्माण भएको प्रमाणित भए आफू त्यसलाई खाली गर्न तयार रहेको सिटौलाको भनाइ छ।
