दमक ।
“सार्वजनिक सम्पत्ति हिनामिना गर्ने उपर छानबिन सुरु” शीर्षकमा प्रकाशित समाचारप्रति दमक–१० का पूर्व वडा अध्यक्ष भक्ति सिटौला तथा इमेलमार्फत प्रतिक्रिया जनाउने रमेश ढकालले आपत्ति जनाउँदै उक्त समाचारले आफूहरूको मानहानी र मानमर्दन गरेको दाबी गरेका छन्। विशेषगरी आफूलाई दोहोरो नागरिकता लिएको आरोप लगाएर विवादमा तानिएकोप्रति उनीहरूको असन्तुष्टि रहेको बताइएको छ।
पूर्व खबरमा प्रकाशितउक्त समाचारमा उल्लेख गरिएका विषयहरूका सम्बन्धमा दमक नगरपालिका न्यायिक समितिमा यसअघि नै मुद्दा दर्ता भई छानबिन सम्पन्न भइसकेको र सोही आधारमा कारबाही प्रक्रिया अगाडि बढिरहेको न्यायिक समितिले जनाएको छ। न्यायिक समितिका अनुसार यो विषय केवल आरोपको तहमा सीमित नरही औपचारिक प्रक्रियामा प्रवेश गरिसकेको छ।
प्राप्त जानकारीअनुसार, झापा जिल्लामा पछिल्लो समय कृते नागरिकता बनाउने, नक्कली मोही देखाउने तथा कृते कागजात प्रयोग गरी सार्वजनिक तथा निजी सम्पत्तिमा हक दाबी गर्ने जस्ता गतिविधि बढ्दै गएको विषयमा सम्बन्धित निकायले अनुसन्धान तीव्र पारेका छन्। यसै सन्दर्भमा एउटै व्यक्तिले फरक–फरक मितिमा दुईवटा जिल्लाबाट फरक नागरिकता नम्बर प्रयोग गरी नागरिकता लिएको नेपाल सरकारको लेटर प्याड र स्ट ्याम्प कृते गरी दुरुपयोग गरिएको आशंकामा जिल्ला प्रशासन कार्यालय, झापामा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको बताएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले बिर्तामोड, मेचीनगर, दमक लगायतका क्षेत्रमा देखिएका यस्ता शंकास्पद नागरिकता सम्बन्धी विषयमा गहिरो अनुसन्धान भइरहेको बताएका छन्। सोही क्रममा बिर्ताबजार क्षेत्रबाट केही व्यक्तिहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रमुख राजन लिम्बुले जानकारी दिएका छन्।
यसैबीच, सम्पत्ति रोक्काको विषयमा दमक मालपोत कार्यालयले सम्बन्धित व्यक्तिको नाममा रहेको सम्पत्ति रोक्का राखिएको जानकारी गराएको छ। साथै, दमक–१० स्थित सार्वजनिक सम्पत्तिमा भौतिक संरचना निर्माण गरिएको विषयमा पनि दमक नगरपालिका न्यायिक समितिमा छलफल भई आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।
उक्त सबै तथ्य र घटनाक्रमका आधारमा, समाचारले कुनै व्यक्तिको व्यक्तिगत मानहानी गर्ने उद्देश्य नराखी सार्वजनिक सरोकार, कानुनी प्रक्रिया र छानबिनको अवस्थालाई उजागर गर्ने उद्देश्यले प्रकाशन गरिएको जनाइएको छ। सार्वजनिक पद धारण गरेका व्यक्तिले नै राज्यको सम्पत्ति दोहन गरेको र दुईटा नागरिकता बनाएको गैरकानुनी कामप्रति नेपाल सरकारको कानुन पनि सक्रिय हुने हुँदा यस्ता घटनाप्रति जनचासो र स्थानीय तहबाटै जानकारी आएको स्मरण गराउँदै यद्यपि, निवेदक भक्ति सिटौला तथा इमेलमार्फत प्रतिक्रिया जनाउने रमेश ढकालको आपत्तिलाई ध्यानमा राख्दै समाचारको विषयमा खण्डन तथा स्पष्टिकरण प्रकाशित गरिएको छ। सम्पादक मण्डल।
