बिर्तामोड झापा
साहित्य चौतारी झापा, नेपालले डिजिटल प्रसारण पोडकास्ट कार्यक्रम ‘साहित्य चौतारीसँग सष्टा’ को शुभारम्भ गरेको छ ।
साहित्य, कला तथा सङ्गीतको क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई डिजिटल माध्यममार्फत श्रोता तथा पाठकमाझ पुर्याउने उद्देश्यले उक्त पोडकास्ट कार्यक्रम सुरु गरिएको साहित्य चौतारीले जनाएको छ ।
सोमबार बिर्तामोडस्थित होटल हिकोलामा आयोजित समारोहबीच कार्यक्रमको शुभारम्भ गरिएको हो । साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार कृष्ण धरावासी प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि धरावासीसहित अग्रज गायक तथा सङ्गीतकार डा. टीका भण्डारी, कानुन व्यवसायी लीला उदासी, अनिरुद्र ओलीलगायतले संयुक्त रूपमा गरेका थिए ।
होटल हिकोलो हेरिटेज प्रालि, काँकरभिट्टा शाखाको छैटौँ वार्षिकोत्सवको अवसरमा ‘पर्यटन प्रवर्द्धनमा साहित्य, सङ्गीत र सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया तथा पोडकास्ट कार्यक्रमको शुभारम्भ गरिएको हो ।
स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले होटल हिकोलो हेरिटेजको शाखा सञ्चालनमा आएको अवरोधप्रति दुःख व्यक्त गरे । उनले डेढ करोड रुपैयाँभन्दा बढी लगानी गरे पनि केही वर्षदेखि काँकरभिट्टास्थित शाखा सञ्चालन गर्न नपाएको बताए । बिर्तामोडस्थित होटल हेरिटेजमा भने प्रत्येक वर्ष वार्षिकोत्सव मनाउँदै आएको उनले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।
