निर्वाचन आचार संहिताको कार्यान्वयनमा कढाइ: युट्युबरको गतिविधि समेत निगरानीमा

राजकुमार ओली
बिर्तामोड, फागुन १ (पूर्व खबर)
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन झापामा आचारसंहिताको कार्यान्वयनमा कडाइ गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचन अवधिमा आचारसंहिता उल्लंघन गर्ने जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पार्नुभएको छ।
भद्रपुरमा आज आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयक सञ्चारकर्मीसँगको अन्तरक्रियामा सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै सिडिओ गेलालले आचारसंहिता कार्यान्वयनमा प्रशासन, सुरक्षा निकाय र अनुगमन संयन्त्र पूर्ण रूपमा सक्रिय रहने बताउनुभयो। उहाँले निर्वाचनको विश्वसनीयता र पारदर्शिता कायम राख्न कुनै किसिमको दबाब वा प्रभाव स्वीकार नगर्ने धारणा व्यक्त गर्नुभयो।

अन्तरक्रियामा सञ्चारकर्मी मोहन काजी न्यौपाने, प्रदीप परियार, सुशीला संग्रौला, वीरेन्द्र न्यौपाने लगायतले निर्वाचन अवधिमा सञ्चार क्षेत्रमा देखिएका आचारसंहितासम्बन्धी केही घटनाक्रमबारे ध्यानाकर्षण गराएका थिए। उनीहरूले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सक्रिय ‘युट्युबर’हरूले आचारसंहिता विपरीत सामग्री प्रकाशन तथा प्रसारण गरेको, मतदातालाई अनावश्यक रूपमा दुःख दिने र प्रभाव पार्ने प्रयास भएको गुनासो गरेका थिए।
सञ्चारकर्मीहरूले निर्वाचनमा खटिने प्रहरी तथा सुरक्षाकर्मीलाई समेत आचारसंहितासम्बन्धी पर्याप्त तालिम नदिएको विषय उठाउँदै प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालालाई स्पष्ट अभिमुखीकरण आवश्यक रहेको बताएका थिए। निर्वाचनको संवेदनशील समयमा भ्रामक सूचना र एकपक्षीय सामग्रीले मतदातामा भ्रम सिर्जना गर्न सक्ने भएकाले त्यसतर्फ प्रशासनको ध्यान जानुपर्ने उनीहरूको भनाइ थियो।

जवाफमा सिडिओ गेलालले सञ्चार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै जिम्मेवार पत्रकारितामार्फत निष्पक्ष वातावरण निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो। “आचारसंहिता राजनीतिक दल वा उम्मेदवारका लागि मात्र होइन, सबै पक्षका लागि हो,” उहाँले भन्नुभयो, “उल्लंघन भएको पाइएमा प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइन्छ।”
उहाँले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत प्रसारित सामग्रीसमेत निगरानीको दायरामा रहेको जानकारी दिनुभयो। मतदातामाथि दवाब सिर्जना गर्ने, चरित्रहत्या गर्ने, गलत सूचना फैलाउने वा निर्वाचन परिणाम प्रभावित पार्ने उद्देश्यका गतिविधि सह्य नहुने उहाँको भनाइ थियो।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जिल्लामा अनुगमन संयन्त्रलाई सक्रिय बनाइएको जानकारी दिनुभयो। उहाँले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी प्राप्त भए तत्काल छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान प्रक्रिया, नमुना मतपत्रको प्रयोग र मताधिकारको महत्वबारे जानकारी गराइने बताउनुभयो। उहाँका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म जिल्लाका १३१ वटै वडामा स्वयंसेवक परिचालन गरिनेछ।

अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्षलगायतले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा राखेका थिए। उनीहरूले सञ्चारमाध्यम, सुरक्षा निकाय, प्रशासन र नागरिक समाजबीच समन्वय सुदृढ गरी शान्तिपूर्ण निर्वाचन वातावरण सुनिश्चित गर्नुपर्नेमा झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जोड दिएका थिए
जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर अनुगमनलाई थप सशक्त बनाउने र आवश्यक परे कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ। निर्वाचनलाई भयरहित, पारदर्शी र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array