बिर्तामोड, २६ फागुन। झापाको दमक क्षेत्रमा होटल तथा आतिथ्य व्यवसायमा लगानी बढ्दै गएको छ । यसैक्रममा दमक नगरपालिका–४ स्थित मावा पुल नजिकै नयाँ होटल सञ्चालनमा आएको छ ।
स्थानीय युवा व्यवसायी टिका बस्नेतले करिब साढे तीन करोड रुपैयाँको लगानीमा ‘होटल कोजी होम’ सञ्चालनमा ल्याउनुभएको हो । होटलमा हाल १५ वटा व्यवस्थित कोठा रहेको र बसोबाससँगै खानपानको सुविधा उपलब्ध गराइएको सञ्चालक बस्नेतले जानकारी दिनुभयो ।
स्वच्छ तथा पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । होटल सञ्चालनसँगै केही स्थानीय युवायुवतीले रोजगारी पाएका छन् भने आगामी दिनमा सेवा विस्तारसँगै थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
पूर्व–पश्चिम राजमार्ग नजिक पर्ने भएकाले यात्रु तथा पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको जनाइएको छ । दमक हुँदै यात्रा गर्ने आन्तरिक पर्यटक तथा व्यापारिक प्रयोजनका लागि आउने पाहुनालाई सहज बसोबास उपलब्ध गराउने उद्देश्यले होटल स्थापना गरिएको सञ्चालकले बताउनुभयो ।
होटल परिसरमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने तयारी पनि भइरहेको जनाइएको छ । पछिल्लो समय दमक क्षेत्रमा होटल, रेष्टुरेन्ट तथा सेवा केन्द्रहरू विस्तार हुँदै जाँदा आर्थिक गतिविधि बढ्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।
मावा पुल आसपास क्षेत्रमा नयाँ होटल सञ्चालनमा आएपछि स्थानीय स्तरमा आर्थिक गतिविधि तथा रोजगारीका अवसर थप विस्तार हुने अपेक्षा गरिएको छ ।


