सरस्वती मिस्र,बिर्तामोड, जेठ २८ । झापाको बिर्तामोडमा युवाहरूलाई रोजगारी तथा सीपमूलक अवसरसँग जोड्ने उद्देश्यले वृहत् रोजगार मेला आयोजना गरिने भएको छ। बिर्तामोड नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुखका तर्फबाट उपप्रमुख नगेन्द्र संग्रौलासहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिले मेलाको तयारी तीव्र रूपमा अघि बढाइएको जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख संग्रौलाले रोजगार मेलामार्फत कम्तीमा दुई हजारभन्दा बढी युवालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको बताए। उनले पछिल्लो समय वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसरबारे जानकारी गराउन मेला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
उपप्रमुख संग्रौलाका अनुसार मेलामा विभिन्न औद्योगिक प्रतिष्ठान, व्यवसायिक संस्था, वित्तीय निकाय, तालिम प्रदायक संस्था तथा रोजगारदाता कम्पनीहरूको सहभागिता रहनेछ। रोजगार खोजिरहेका युवा र दक्ष जनशक्ति आवश्यक भएका रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यमा आयोजना हुन लागेको रोजगार मेला झापाकै ठूलो रोजगार केन्द्रित कार्यक्रममध्ये एक बन्ने दाबी गरे। उनले स्थानीय उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई आवश्यक जनशक्ति उपलब्ध गराउनुका साथै बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना गर्नु मेलाको प्रमुख उद्देश्य रहेको बताए।
उनका अनुसार मेलामा सहभागी हुने रोजगारदाता कम्पनीहरूको विवरण संकलन गर्ने, आवश्यक जनशक्तिको माग पहिचान गर्ने तथा रोजगार खोज्ने युवाको तथ्यांक व्यवस्थापन गर्ने कार्य भइरहेको छ। रोजगारदाताले आवश्यक पर्ने दक्षता र योग्यता अनुसार युवालाई छनोट गर्ने वातावरण मेलाले निर्माण गर्ने अपेक्षा गरिएको छ।
बिर्तामोड–३ का वडा अध्यक्ष मदन बुढाथोकीले रोजगार मेला केवल जागिर उपलब्ध गराउने कार्यक्रम मात्र नभई युवालाई सीप, तालिम, उद्यमशीलता र स्वरोजगारका अवसरबारे जानकारी दिने थलोसमेत हुने बताए। उनले स्थानीय तहले युवाको भविष्यलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै रोजगार मेलाले त्यसलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
तयारी कसरी भइरहेको छ ?
आयोजकका अनुसार रोजगार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। मेलामा सहभागी हुन इच्छुक उद्योग, व्यवसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, होटल, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र र सेवा क्षेत्रका रोजगारदातासँग समन्वय भइरहेको छ। रोजगारदाताबाट आवश्यक जनशक्तिको विवरण संकलन गरी उपलब्ध रोजगारीका अवसरहरूको सूची तयार पार्ने काम भइरहेको छ।
त्यस्तै, रोजगार खोजिरहेका युवाको दर्ता प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी युवाले आफ्नो शैक्षिक योग्यता, अनुभव र रुचिका आधारमा रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्ने व्यवस्था मिलाइने भएको छ। केही कम्पनीले मेलास्थलमै अन्तर्वार्ता लिएर कर्मचारी छनोट गर्ने तयारीसमेत गरेका छन्।
मेलामा करियर परामर्श, वैदेशिक रोजगारीसम्बन्धी सचेतना, सीप विकास तालिम, उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगारका अवसरबारे जानकारी दिने विशेष सत्रहरू पनि सञ्चालन गरिने जनाइएको छ। युवालाई रोजगार बजारको वास्तविक अवस्था बुझाउन तथा आवश्यक सीप विकासतर्फ प्रेरित गर्न विशेषज्ञहरूको सहभागिता रहनेछ।
आयोजकहरूले विद्यालय, कलेज तथा विभिन्न युवा समूहहरूसँग समन्वय गरी मेलाबारे व्यापक प्रचार–प्रसार गरिरहेका छन्। सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यम तथा सार्वजनिक सूचना प्रणालीमार्फत युवालाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।
स्थानीय सरकार, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाको सहकार्यमा हुन लागेको रोजगार मेलाले बेरोजगारी न्यूनीकरण, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा युवाको क्षमता उपयोगमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजकहरूका अनुसार मेलाले रोजगारी खोज्ने र रोजगारी दिने पक्षबीचको दूरी कम गर्दै बिर्तामोडलाई रोजगारमैत्री नगरका रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
दुई हजारभन्दा बढी युवालाई रोजगारी तथा आयआर्जनका अवसरसँग जोड्ने लक्ष्यसहित तयारी भइरहेको उक्त रोजगार मेलाप्रति युवाहरूको चासोसमेत बढ्दै गएको आयोजकहरूको भनाइ छ।


