राजकुमार ओली,बिर्तामोड, जेठ २८ । दीपक ओली ले सञ्चालन गर्दै आएको शैक्षिक सहयोग अभियान विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीका लागि आशाको किरण बनेको भन्दै आशा शर्मा शिवाकोटी ले यसको खुलेर प्रशंसा गरेकी छन्।
झापाको सरस्वती माध्यमिक विद्यालय मा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै उपप्रमुख शिवाकोटीले शिक्षा क्षेत्रमा दीपक ओलीले पुर्याउँदै आएको योगदान समाजका लागि प्रेरणादायी र अनुकरणीय रहेको बताइन्। उनले सरकारी संयन्त्रको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै समाजका सक्षम व्यक्ति र संस्थाहरूको सहकार्यले शिक्षाको पहुँच विस्तार गर्न ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरिन्।
(बाइट : आशा शर्मा शिवाकोटी)
उपप्रमुख शिवाकोटीले यस्ता अभियानले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ भोगिरहेका विद्यार्थीलाई राहत पुग्नुका साथै उनीहरूमा पढाइप्रतिको उत्साह र आत्मविश्वास बढाउने बताइन्। उनका अनुसार सामाजिक उत्तरदायित्वको भावनाले सञ्चालन गरिएका यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्दै शैक्षिक वातावरण सुदृढ बनाउन सहयोग पुर्याउँछन्।
कार्यक्रममा सामाजिक अभियन्ता दीपक ओलीको अगुवाइमा विद्यालयका नौ जना अतिविपन्न विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, स्टेसनरी सामग्री, विद्यालय ब्याग तथा वार्षिक शुल्क सहयोग प्रदान गरिएको थियो। कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीले उक्त सहयोग प्राप्त गरेका हुन्।
अभियानलाई ह्युमन नेचर फाउन्डेसन नेपाल हङकङ, बिज इन्टरनेसनल एजुकेसन सर्भिस तथा लायन्स क्लब अफ कनकाई दुर्गापुर ले सहयोग गरेका छन्।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपति आचार्य, प्रधानाध्यापक नारायणप्रसाद अधिकारी, डा. लक्ष्मीप्रसाद मैनाली तथा समाजसेवी शेरबहादुर थापा ले पनि यस्ता सहयोगमूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
दीपक ओलीले विगत केही वर्षदेखि कनकाई क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय ब्याग, न्यानो कपडा लगायतका सहयोग उपलब्ध गराउँदै आएका छन्। उनले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थीका लागि निःशुल्क खाना तथा खाजाको व्यवस्थासमेत गर्दै सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेका छन्।
उपप्रमुख शिवाकोटीले शिक्षा विकासका लागि सरकार र समाजबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै दीपक ओलीजस्ता अभियन्ताको सक्रियताले शिक्षाको गुणस्तर सुधार र अवसरबाट वञ्चित बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।


