cURL Error: 0 इटहरी: देश बन्धु र अबको कोशीको प्रोजेक्ट - पूर्व खबर

इटहरी: देश बन्धु र अबको कोशीको प्रोजेक्ट

राजकुमार ओली, बिर्तामोड,इटहरीमा निर्माण हुन लागेको कोशी प्रदेशकै ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्रलाई लिएर व्यवसायी देशबन्धु बस्नेतले पूर्वी नेपालको पर्यटन, आतिथ्यता र सम्मेलन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएका छन्। करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टरले इटहरीलाई अन्तर्राष्ट्रियस्तरको सम्मेलन, प्रदर्शनी तथा गन्तव्य विवाह (डेस्टिनेसन वेडिङ) केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
कोशी प्रदेशकै उत्कृष्ट हब बनाउन खोज्दै देशबन्धु बस्नेत
इटहरी, जेठ २८ । कुनै समय उद्योग, व्यापार र यातायातको केन्द्रका रूपमा परिचित इटहरी अब पर्यटन र आतिथ्यता क्षेत्रको प्रमुख गन्तव्य बन्ने तयारीमा छ। करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको एबी हस्पिटालिटी–विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टरले कोशी प्रदेशकै सबैभन्दा ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्रको रूपमा परिचित हुने लक्ष्य राखेको छ।
परियोजनाको नेतृत्व व्यवसायी देशबन्धु बस्नेत ले गरिरहनुभएको छ। यसअघि पाँचतारे Mercure Kathmandu र Ramada by Wyndham Itahari सञ्चालनमा ल्याइसक्नुभएका बस्नेतको यो तेस्रो अन्तर्राष्ट्रियस्तरको आतिथ्यता परियोजना हुनेछ।
इटहरीको भाटभटेनी क्षेत्रनजिक निर्माण हुने केन्द्रमा एकैपटक चार हजार जनासम्म अटाउन सक्ने सम्मेलन तथा कार्यक्रम स्थल रहनेछ। यसले नेपालसँगै भारतका सीमावर्ती राज्यबाट हुने विवाह समारोह, व्यापारिक सम्मेलन, प्रदर्शनी तथा अन्य ठूला कार्यक्रमलाई लक्षित गर्नेछ।
बस्नेतका अनुसार यो परियोजना होटल व्यवसायमा गरिएको लगानी मात्र नभई पूर्वी नेपालको आर्थिक तथा पर्यटन विकाससँग जोडिएको अभियान हो। विराटनगर–इटहरी–धरान करिडोरको तीव्र विकास, सहज सडक सञ्जाल र सीमापार व्यापारिक गतिविधिलाई मध्यनजर गर्दै परियोजना अघि बढाइएको उहाँको भनाइ छ।
परियोजनाका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्की ले पनि इटहरीलाई अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले परियोजना अघि बढाइएको बताउनुभएको छ। “यो पूर्वको आवश्यकता थियो। हाम्रो गृहनगर भएकाले पनि इटहरी नै रोजाइमा पर्यो,” उहाँले भन्नुभएको छ।
रिसोर्ट सञ्चालनमा आएपछि Koshi Tappu Wildlife Reserve, Bhedetar, Ilam Tea Gardens लगायत पूर्वी नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ।
व्यवसायी बस्नेतले यो परियोजनामार्फत रोजगारी सिर्जना, निजी क्षेत्रको लगानी विस्तार तथा पर्यटन उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ। पूर्वी नेपाललाई सम्मेलन, विवाह तथा पर्यटनको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने उहाँको लक्ष्यलाई कोशी प्रदेशकै महत्वाकांक्षी पर्यटन परियोजनामध्ये एक मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *