cURL Error: 0 क्रोएसिया पठाउने भन्दै ४० लाख ठग्ने पक्राउ-झापामा बढ्दो चुनौती - पूर्व खबर

क्रोएसिया पठाउने भन्दै ४० लाख ठग्ने पक्राउ-झापामा बढ्दो चुनौती

 

राजकुमार ओली बिर्तामोड, जेठ २९ । वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठगी गर्ने गिरोह विरुद्ध प्रहरीले कारबाहीलाई तीव्र बनाएको छ।

यसैक्रममा अमेरिका र क्रोएसिया पठाइदिने भन्दै ४० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ र मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन्। उनीहरूले अमेरिका र क्रोएसिया पठाइदिने प्रलोभनमा लाखौं रुपैयाँ असुली गरेर सम्पर्कविहीन भएको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रुकुकुमारी श्रेष्ठले अमेरिका पठाइदिने भन्दै ३५ लाख रुपैयाँ तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए। पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
झापामा अवस्था कस्तो छ ?
वैदेशिक रोजगारीका नाममा हुने ठगी झापामा पनि गम्भीर समस्याका रूपमा देखिएको छ। पछिल्लो समय झापाका नागरिकहरूलाई विभिन्न देशमा आकर्षक तलबको प्रलोभन देखाएर रकम असुल्ने घटनाहरू सार्वजनिक भइरहेका छन्। केही महिनाअघि वैदेशिक रोजगारीका नाममा ६५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई झापालीसहित चार जना पक्राउ परेका थिए। गत हप्ता मात्रै इलामकी एक युवतीलाई रुवानिया पठाउँछु भन्दै पटकपटक गरी ४ लाख ५० हजार ठगी गरेपछि बिर्तामोडका एक व्यवसायीका नाममा उजुरी परेको छ। उजुरीपछि बिर्तामोडका मेनपावर व्यवसायीले आफूले असार महिना भित्रैमा व्यवहार मिलाउने जानकारी गराएका छन्।
वैदेशिक रोजगार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार देशभर वैदेशिक रोजगारीसँग सम्बन्धित सयौं ठगीका उजुरी दर्ता भएका छन् र करोडौं रुपैयाँ ठगी भएको तथ्यांक सार्वजनिक भएको छ।
झापाका बिर्तामोड, दमक, गौरादह, भद्रपुर, काँकडभिट्टा लगायतका क्षेत्रमा वैदेशिक रोजगारको आकर्षण उच्च रहेकाले ठगीका जोखिम पनि उत्तिकै रहेको सरोकारवालाहरू बताउँछन्। प्रहरीले वैदेशिक रोजगारीका लागि जानुअघि सरकारी स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्रै प्रक्रिया अघि बढाउन तथा रकम भुक्तानी गर्दा आवश्यक कागजात सुरक्षित राख्न आग्रह गरेको छ।
वैदेशिक रोजगारीको सपना देख्ने युवालाई लक्षित गरेर सक्रिय हुने दलाल र ठगी गिरोहविरुद्ध निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता झापामा समेत महसुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *