युद्धविराम हुने ट्रम्पको घोषणापछि घट्यो तेलको मूल्य

काठमाडौं, — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। मध्यपूर्वमा जारी तनाव चाँडै अन्त्य हुन सक्ने संकेत देखिएपछि विश्व बजारमा तेलको मूल्य घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
विश्व बजारमा कारोबार हुने ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८ दशमलव ५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२ दशमलव ५० अमेरिकी डलरमा झरेको छ। यसैगरी अमेरिकामा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) कच्चा तेलको मूल्यसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८ दशमलव ६० अमेरिकी डलरमा पुगेको जनाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने संकेत दिएपछि विश्व बजारमा तेलको मूल्य घट्न थालेको हो। ट्रम्पले मध्यपूर्वमा बढ्दो तनावका विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेको र युद्ध चाँडै अन्त्य हुन सक्ने बताएका थिए।
मध्यपूर्व विश्वको प्रमुख तेल उत्पादन क्षेत्र भएकाले त्यहाँ उत्पन्न हुने राजनीतिक तथा सैनिक तनावले अन्तर्राष्ट्रिय तेल बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। युद्धको सम्भावना बढ्दा आपूर्ति अवरुद्ध हुन सक्ने आशंकाले तेलको मूल्य बढ्ने गर्दछ भने तनाव कम हुने संकेत देखिँदा मूल्य घट्ने प्रवृत्ति देखिन्छ।
विश्लेषकहरूका अनुसार पछिल्लो समय युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत र बजारमा आपूर्ति स्थिर रहने अपेक्षाले तेलको मूल्यमा गिरावट आएको हो। यद्यपि ट्रम्पले युद्ध चाँडै अन्त्य हुने बताए पनि एक साताभित्रै युद्ध समाप्त नहुने टिप्पणी सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
ऊर्जा बजारका जानकारहरूका अनुसार मध्यपूर्वको अवस्था, प्रमुख उत्पादक राष्ट्रहरूको उत्पादन नीति तथा विश्वव्यापी मागको अवस्थाले आगामी दिनमा तेलको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्नेछ। त्यसैले बजारमा मूल्यको उतारचढाव अझै जारी रहन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *