अत्याधिक शानदार मतका साथ निशा डाँगी निर्वाचित

बिर्तामोड, २५ फागुन । प्रतिनिधिसभा सदस्य पदका लागि सम्पन्न निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगी भारी मतान्तरसहित निर्वाचित भएकी छन्।
निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले शनिबार राति सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेलाई फराकिलो मतान्तरले पराजित गरेकी छन्। पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।
कुल ८२ हजार ५६० मत गणना हुँदा डाँगीले अत्यधिक मत प्राप्त गर्दै स्पष्ट अग्रतासहित विजयी भएकी हुन्। यस निर्वाचनमा संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले १० हजार ४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र उप्रेतीले सात हजार ६५९ मत हासिल गरेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार प्राध्यापक हेमराज कार्कीले एक हजार ६१२ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार इन्जिनियर अशेष घिमिरेले ९२२ मत प्राप्त गरेका छन् भने मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार शन्तोष तामाङले ९७१ मत हासिल गरेका छन्।
उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेशकुमार लावतीले ४८५ मत प्राप्त गरेका छन् भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हिरण्यप्रसाद भट्टराईले २३ मत प्राप्त गरेका छन्। नेपाल जनमुक्ति पार्टीका उम्मेदवार खान्द्रु करूवाले १७ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मानबहादुर सावाँ लिम्बुले ९९ मत हासिल गरेका छन्।
यसैगरी स्वतन्त्र उम्मेदवार गणेशकुमार खरेलले ३३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद सावाँ लिम्बुले ८४ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी नेपालकी उम्मेदवार रमा मेचेले ४३ मत प्राप्त गरेकी छन् भने नेपाल सद्भावना पार्टीका उम्मेदवार ओलिन राजवंशीले १०९ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार झापा–१ मा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ८३ हजार ८२२ मत खसेको थियो। तीमध्ये चार हजार २६९ मत बदर भएको सहायक निर्वाचन अधिकृत टेकबहादुर श्रेष्ठले जानकारी दिएका छन्।
मतगणना सम्पन्न भएसँगै डाँगी निर्वाचित भएको घोषणा गरिएको हो। भारी मतान्तरसहितको विजयसँगै उनले पहिलो पटक प्रतिनिधिसभामा प्रवेश गरेकी छन्।
यस निर्वाचन परिणामलाई झापा–१ मा नयाँ राजनीतिक शक्तिप्रति मतदाताको समर्थनका रूपमा पनि विश्लेषण गरिएको छ। विजयी भएपछि डाँगीले मतदाताले देखाएको विश्वासलाई सम्मान गर्दै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *