बिर्तामोडमा सन्थाल गोल्डकप सुरु: हात्तीमारा सेमिफाइनलमा प्रवेश

बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट सुरु भएको प्रथम सन्थाल गोल्डकपको उद्घाटन खेलमा विजयी हुँदै हात्तीमारा फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा हात्तीमाराले विहानी सन्थाल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । हात्तीमाराको जितमा जर्सी नम्बर ११ का शंकर किस्कुले खेलको आठौं मिनेटमै निर्णायक गोल गरेका थिए । उत्कृष्ट प्रदर्शनका लागि किस्कु म्यान अफ द म्याच घोषित भए । उनलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ ले आयोजना गरेको सन्थाल गोल्डकपको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले गरेका छन् । उनले गोल्डकपको उद्घाटन गर्दै सन्थाल समुदायमा खेलाडी उत्पादन र संरक्षणमा प्रतियोगिताले महत्वपूर्ण सहयोग गर्ने बताए । मन्त्री महतोले सन्थाल समुदायले आफै गोल्डकप आयोजना गर्नु महत्वपूर्ण उपलब्धी भएको बताएका छन् । कोशी प्रदेश सरकार सन्थाल समुदायको उत्थानमा सधैं प्रतिवद्ध रहेको उनको भनाई थियो ।
बिर्तामोड नगरपालिका संरक्षक रहेको गोल्डकपको भद्रपुर झापा गोल्डकप र बिर्तामोड नगरपालिका वडा नं. ६ सहप्रायोजक रहेका छन् । चैत २८ गतेसम्म हुने गोल्डकपको विजेताले नगद १ लाख र उपविजेताले ६० हजारसहित ट्रफी मेडल प्राप्त गर्नेछन् ।
खेल तालिका अनुसार आइतवार मदरगाछ फुटबल क्लव र बान्चाभिट्टा सिर्जन क्लव पश्चिम बंगालबीच खेल हुने कार्यक्रम संयोजक टिका हस्ताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *