cURL Error: 0 बाह्रदशी गाउँपालिकामा १७ जना विद्यार्थीको अभिभावकत्व - पूर्व खबर

बाह्रदशी गाउँपालिकामा १७ जना विद्यार्थीको अभिभावकत्व

बाह्रदशी जेसीजले बाह्रदशी गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा पढिरहेका १७ जना विद्यार्थीको अभिभावकत्व लिएको छ ।

जेसीजको दिगो विकास कार्यक्रम अन्तर्गत विद्यार्थीको सम्पूर्ण खर्च व्यहोर्ने गरी जेसीजले यसवर्ष १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको हो ।

यससँगै विद्यार्थीलाई विद्यालय पोशाकसहित वर्षभरि पुग्ने कपी, पेन्सिल, डटपेन सहित आवश्यक शैक्षिक सामग्री, जुत्तामोजा र स्कूल ब्याग समेत प्रदान गरिएको जनाइएको छ ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चौलागाईं, उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला लगायतको उपस्थितिमा गाउँपालिकामा आयोजित कार्यक्रममा जेसीजले १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको बताइएको छ ।

बाह्रदशी जेसीजका अध्यक्ष खगेन्द्र सुवेदीको अध्यक्षता र गाउँपालिका अध्यक्ष चौलागाईंको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सो पालिकाको एउटा सामुदायिक विद्यालयबाट एक जना विद्यार्थी छानेर अभिभावकत्व ग्रहण गरिएको घोषणा गरियो ।

उक्त पालिकाभित्रका एउटा सामुदायिक विद्यालयबाट एक जना विपन्न बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्न गत वर्षबाट शुरु गरिएको कार्यक्रमलाई निरन्तरता दिइएको बाह्रदशी जेसीजका अध्यक्ष सुवेदीले बताए ।

अभिभावकत्व ग्रहण गरेसँगै अब जेसीजमा आबद्ध एक जना पदाधिकारीले एक जना विद्यार्थीको सबै खर्च व्यहोर्ने बताइएको छ ।

बाह्रदशी जेसीजका उपाध्यक्ष राजु अधिकारीले आस्था वाचन गरेको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौलागाईं, उपाध्यक्ष खरेल, प्रमुख प्रशासकीय अधिकृत निरौला सहित शिक्षा शाखाका निमित्त प्रमुख योगराज पौडेल, पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक थीरकुमार दाहाल, घोडामारा आधारभूत विद्यालयका प्रधानाध्यापक कमल चौलागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बाह्रदशी जेसीजका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा बाह्रदशी जेसीजका कार्यकारिणी उपाध्यक्ष नविनकुमार त्रितालले शाब्दिक स्वागत गरे भने बाह्रदशी जेसीजकी कार्यकारिणी उपाध्यक्ष सदिक्षा खड्काको संयोजकत्वमा कार्यक्रम भएको थियो ।

सो कार्यक्रमको सञ्चालन महासचिव सञ्जय साहले गरेका थिए ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्म अध्ययन गर्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरी बाह्रदशी जेसीजले दीगो विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट सो कार्यक्रम सञ्चालन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *